माओवादी केन्द्रको पार्टीको केन्द्रीय समिति भंग
News Desk
Sep-27 , 2025 तारिख 05:28 बिहान

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गर्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा “प्रभाकर”ले प्रस्तुत गरेका पार्टी रूपान्तरण सम्बन्धी महत्वपूर्ण विषयहरूलाई समेत समावेश गरेको छ। बैठकले जनयुद्ध, जनआन्दोलन, जेन–जी विद्रोह लगायतका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उच्च सम्मान व्यक्त गरेको छ र जेन–जी विद्रोहको भावनालाई सम्मान गर्दै पार्टीलाई शुद्धिकरण तथा पुनर्निर्माण गर्ने संकल्प व्यक्त गरेको छ।

बैठकले पार्टीको केन्द्रीय समिति भंग गर्ने र आगामी मंसिर मसान्तभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। उक्त महाधिवेशनलाई अध्यक्ष प्रचण्ड संयोजक रहने गरी महाधिवेशन आयोजक समिति र यसको सचिवालय गठन गरिएको छ। विचार मिल्ने माओवादी धारा तथा वामपन्थी पार्टीहरूबीच एकता गर्ने र एकताको प्रक्रिया तत्काल अघि बढाई विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनलाई सफल पार्न पार्टीले सक्रिय भूमिका खेल्ने र फागुन २१ गतेको निर्वाचन हुन नदिने प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै निर्वाचन पक्षमा वातावरण निर्माण गर्ने निर्णय गरेको छ। आसन्न निर्वाचनमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने, समानुपातिक निर्वाचन प्रणालीको पक्षमा उभिने र विज्ञहरूलाई मन्त्री बनाउनुपर्ने कुरालाई राष्ट्रिय मुद्दाका रूपमा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने र आयोगले जनस्तरबाट समेत सुझाव लिएर दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ। जेन–जी आन्दोलनले उठाएको “नेपोटिज्म”को विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै कार्यविधि बनाएर नेता–कार्यकर्ताका परिवारको जिम्मेवारी र जीवनशैलीबारे स्पष्ट निर्णय गर्ने तयारी गरेको छ।

बैठकले पार्टी केन्द्रीय कार्यालय र नेताहरूको सचिवालयमा परिवारका सदस्यहरू नराख्ने र प्रविधिमैत्री जनशक्ति प्रयोग गर्ने निर्णय गरेको छ। महाधिवेशन आयोजक समितिको सचिवालयले यस सम्बन्धमा कार्यविधि बनाएर निर्णयलाई लागू गर्नेछ। पार्टीका सबै कमिटीहरूमा जेन–जी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने र विशेष महाधिवेशनमार्फत पार्टी केन्द्रीय समितिमा युवाहरूको सहभागिता बढाउने निर्णय पनि गरिएको छ।

नेतृत्व हस्तान्तरणको विषयमा बैठकमा गम्भीर बहस भएको थियो। बैठकले आगामी महाधिवेशनबाट विधिसम्मत ढंगले नेतृत्व विकास र हस्तान्तरण गर्दै पार्टीमा नयाँ क्रमभंग गर्ने निर्णय गरेको छ। साथै, पार्टी कमिटीहरूलाई प्रविधिमैत्री बनाउने र अभिलेखीकरणको कार्यलाई व्यवस्थित गर्ने दिशा तय गरिएको बैठकले जनाएको छ।

धेरै पढिएको