News Desk
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको लिज सम्झौता आगामी वैशाखमा सकिँदै छ। सम्झौता नवीकरण नभए नेपालमा तीव्र रूपमा लोकप्रिय बन्दै गएको क्रिकेट प्रभावित हुने देखिएको छ।
सम्झौता सकिन चार महिना मात्र बाँकी रहँदा त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने संकेत दिएको छ। खेलका कारण पठनपाठनमा असर परेको भन्दै विश्वविद्यालय सम्झौताको विपक्षमा देखिएको हो।
युवा तथा खेलकुद मन्त्रालयले नवीकरण प्रक्रिया अघि बढाए पनि हालसम्म ठोस निर्णय भएको छैन। विश्वविद्यालयले क्यानको व्यवहार र पर्याप्त समन्वय नभएको कारण सम्झौता नवीकरण कठिन भएको जनाएको छ।
यसबीच, क्यानले सम्झौता नवीकरण हुनेमा आशा व्यक्त गर्दै सरकार र क्यानको ठूलो लगानी रहेको मैदानलाई निरन्तर प्रयोग गर्नुपर्ने धारणा राखेको छ। हाल मैदानमा १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान भइसकेका छन भने दोस्रो चरणमा करिब १० अर्ब रुपैयाँको बजेटसहित रंगशालाको विस्तार योजना अघि बढाइएको छ।