News Desk
काठमाडौं । नेपालले राष्ट्रिय क्रिकेट टोलीका लागि तयार गरिएको नयाँ जर्सी सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी आईसीसी विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको जर्सी गाढा निलो रङको छ, जसमा नेपालको पहिचान झल्किने आकर्षक डिजाइन समावेश गरिएको छ। जर्सीमा राष्ट्रिय प्रतीक र आधुनिक शैलीको संयोजन देखिन्छ, जसले नेपाली क्रिकेटको आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरको प्रतिनिधित्व गर्ने क्यानको अपेक्षा रहेको जनाइएको छ।
क्यानका अनुसार महिला राष्ट्रिय टोलीले आउँदो साता सुरु हुने आईसीसी वुमन्स टी–२० विश्वकप छनोट प्रतियोगितामा यही नयाँ जर्सी लगाएर प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी पुरुष राष्ट्रिय टोलीले पनि अर्को महिना भारतमा आयोजना हुने विश्वकप प्रतियोगितामा यही जर्सी प्रयोग गर्नेछ।
नयाँ जर्सी सार्वजनिक कार्यक्रममा क्यानका पदाधिकारी, खेलाडी तथा क्रिकेटसँग सम्बन्धित विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो। क्यानले नयाँ जर्सीले खेलाडीको मनोबल बढाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान अझ सशक्त रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेको छ।