'अभियानप्रति स्वदेश र विदेशमा रहनुहुने सबैमा अपनत्व जागेको छ' : सुरेन्द्र वाग्ले, संयोजक-साँगे सभ्यता संरक्षण तथा विकास अभियान
News Desk
Apr-10 , 2025 तारिख 04:13 बेलुका

साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्लेसँग राज्य दैनिकको विशेष वार्ता :

प्रश्न १:  साँगे सभ्यताको सन्दर्भमा “साँगे” भन्नाले कुन–कुन क्षेत्रहरू जनाइन्छन् ?
साँगे भन्नाले केवल कुनै एक प्रशासनिक सीमाभित्रको भूभाग मात्र होइन, साँगे खोलासँग ऐतिहासिक, सांस्कृतिक, सामाजिक र भौगोलिक सम्बन्ध बोकेका सम्पूर्ण क्षेत्रहरूलाई जनाइन्छ। विविध भूभागमा फैलिएको भए तापनि साझा पहिचान र आपसी सम्बन्धले एकीकृत भएको जीवित सभ्यताका रूपमा साँगे सभ्यता रहेको छ । यो सभ्यता हालको म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाभित्रका विभिन्न वडाहरूका  साँगे खोलातर्फको पानी ढलो अन्तर्गतका सम्पूर्ण क्षेत्रहरू साँगे सभ्यताको दायरा भित्र पर्छन् । यसरी, साँगे क्षेत्र पानीको प्राकृतिक प्रवाह, सांस्कृतिक सम्पर्क र ऐतिहासिक निरन्तरताका आधारमा परिभाषित एक जीवित सभ्यता हो । जुन इतिहास, संस्कृति, धर्म, सामाजिक सम्बन्ध र जनजीवनले जोडिएको छ ।

प्रश्न २: साँगे सभ्यता संरक्षण तथा विकास अभियानको सुरुवात कसरी भएको हो ?
साँगे क्षेत्रको इतिहासबारे लिखित अभिलेखहरू खासै भेटिएका थिएनन् ।  स्मृतिमा आधारित कथनहरू पाइन्थे। ती स्मृतिहरूलाई दस्तावेजीकरण गर्ने उद्देश्यले वि.सं. २०८० सालको दसैँको घटस्थापनाको दिन, साँगे काठमाण्डौं सम्पर्क समाजद्वारा आयोजित कार्यक्रममा एक पुस्तक प्रकाशन गर्ने प्रस्ताव उठ्यो। त्यस अनुरूप मेरो संयोजकत्वमा प्रकाशन समिति गठन भयो । प्रकाशन समिति गठन भएता पनि लामो समयसम्म हामीले काम सुरु गर्नै सकेनौँ । यसका पछाडि समितिमा प्रकाशनसँग सम्बन्धित सम्पादन कार्य र यस सम्बन्धी अन्य आवश्यक प्राविधिक पक्षको ज्ञान भएका दिग्गज व्यक्तित्व यज्ञस पण्डितको कार्य व्यस्तताका कारण उहाँले चाहेर पनि समय दिन भ्याउनुभएन, यद्यपि उहाँले निरन्तर नैतिक समर्थन साथै आर्थिक रूपमा पनि सहयोग उपलब्ध गराउनुभई आफ्नोतर्फबाट सहयोग पुर्‍याउनुभएको छ, त्यसका निम्ति उहाँ धन्यवादका पात्र हुनुहुन्छ ।  त्यसपछि उहाँकै आग्रहमा हामीले विकल्प खोज्नतर्फ लाग्यौँ र उस्तै अब्बल व्यक्तित्व सरोज ओझालाई सम्पादकको जिम्मेवारी वहन गर्न आग्रह गरियो, उहाँले पनि ३ महिनापछि मात्रै समय दिन सक्ने बताउनुभयो र आफ्नो प्रतिबद्धता अनुरूप उहाँले ३ महिनापछि लेखहरू पठाउन आग्रह गर्नुभयो । व्यस्तताका बाबजुद पनि उहाँले सम्पादन कार्यलाई समय व्यवस्थापन गर्दै सम्पादनको कार्यलाई अगाडि बढाउनुभयो । मैले र समितिकी सदस्य चन्द्रा न्यौपानेले पनि सम्पादन कार्यमा उहाँलाई सजिलो हुने गरी काम गर्दै गयौ । काम अगाडि बढेपछि प्रकाशन समितिमा ऊर्जा थपियो । सम्पादक ओझाले आफ्नो ज्ञान र अनुभव अनुसार सल्लाह सुझाव दिँदै जानुभयो । लेखहरू सङ्कलन र सम्पादन कार्य बरोबर रूपमा अघि बढ्यो । काम गर्दै जाने सिलसिलामा हामीलाई साँगे काठमाडौँ सम्पर्क समाजका सम्बद्ध सँगेलीबाट प्राप्त लेखहरू मात्रै पर्याप्त नहुने महसुस भयो । काम त अगाडि बढ्यो तर आर्थिक सङ्कलन कार्य लक्ष्य अनुरूप सफल हुन नसकेको प्रतित भयो । त्यसपछि हामीले अर्थ सङ्कलनसँगै लेखहरू पनि काठमाण्डौ बाहेक अन्यत्र बसोबास गर्नुहुने सँगेलीहरुसँग पनि लिनुपर्ने निष्कर्ष निकाल्यौँ । र सोका लागि प्रथम साँगे सम्मेलन आयोजना गरी क्षेत्रीय कमिटीसँगै सबैको साझा फोरम निर्माण गरी हामी अघि बढ्दा मात्र पुस्तक प्रकाशन कार्य सम्पन्न गर्न सहज हुने अथवा भनौँ लक्ष्य प्राप्त हुने बोध हुन पुग्यो । यसैक्रममा साँगे सभ्यता संरक्षण तथा विकास अभियानको नाम उपर्युक्त हुन्छ भन्ने निचोडसहित प्रथम साँगे सम्मेलनका क्रममा यो नाम अनुमोदनका लागि प्रस्ताव गरियो । काठमाण्डौ बाहेक अन्यत्र बस्नु हुने सबै सँगेलीहरु समेत समेटिने हुँदा हाम्रो यस प्रस्तावले समर्थन पायो र घोषणा भई यसले आकार ग्रहण गर्‍यो ।

प्रश्न ३ : आकार ग्रहण भन्नुभयो कार्यसमितिको विषयमा पनि प्रष्ट पारिदिनुस् न ?
खासमा प्रथम साँगे सम्मेलनमा सँगेलीहरुको उत्साहजनक सहभागिता रहेको थियो । त्यस सम्मेलनकै क्रममा मेरो संयोजकत्वमा कार्यसमिति गठन गर्ने भन्ने प्रस्तावलाई अग्रज एवं साथीहरूले अनुमोदन गर्नुभयो । सायद, हाम्रो सक्रियता र काम गर्ने तौरतरिका उहाँहरूलाई राम्रो लागेकाले होला भन्ने लाग्छ, उहाँहरूले मेरो नेतृत्व सहर्ष स्विकार्नु भएको हो भन्ने मलाई लाग्छ । यस अभियानलाई औपचारिकता दिँदै यसका अवधारणाकर्ता सरोज ओझालाई महासचिवको जिम्मेवारी तोकियो भने क्षेत्र समेत समेट्दै र सक्रियता समेतलाई मध्यनजर राख्दै  विकास भण्डारीलाई कोषाध्यक्ष र प्रकाशन समितिका सदस्यहरुलाई अभियानको कार्य समिति सदस्यका रूपमा चयन गरियो । कार्य समितिलाई पूर्णता दिन अझै बाँकी छ । हामीले यही चैत्र ३० गते हुने चियापान कार्यक्रममा अन्य इच्छुक साथीहरू मध्येबाट सदस्यहरू छनौट गरी यसलाई पूर्णता दिने सोच राखेका छौँ । समावेशितालाई प्राथमिकता दिँदै यसलाई पूर्णता दिइनेछ । त्यस्तै, क्षेत्रगत रूपमा काठमाण्डौ, तनहुँ, पोखरा, चितवन-नवलपुर, यस बाहेक अल नेपाल क्षेत्र र नेपाल बाहिर अमेरिका, अष्ट्रेलिया, एसिया, युरोप र आवश्यकता अनुरूप आदि क्षेत्रका संयोजकहरू कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था गरेका छौँ । हालसम्म अष्ट्रेलियाका लागि डा. राम पण्डित, पोखराका लागि प्रकाशराज वाग्ले, र साँगे पयेर क्षेत्रका लागि श्रीभद्र आचार्यलाई संयोजकमा चयन गरिएको छ । बाँकी क्षेत्रहरूको पनि छिट्टै नै टुङ्गो लाग्ने नै छ । सल्लाहकार समितिले पनि छिट्टै पूर्णता पाउनेछ । पदेन सदस्यहरूसहित भर्चुअल बैठक र कार्यसमितिका अन्य साथीहरूको बैठक भौतिक रूपमा बस्ने भन्ने नीतिगत व्यवस्था लागू गर्ने सोचको विकास गरिएको छ । अन्य कुराहरू छलफलबाट टुङ्ग्याउँदै जाने नै छौँ ।  

त्यस्तै, कार्यसमितिको कार्यकाल दुई वर्षको हुने सहमति जुटेको छ । भौतिक रुपमा बैठक बसी निर्णय लिनुपर्ने भएको हुँदा पदेन सदस्यहरु बाहेक अहिलेको कार्य समितिको नेतृत्व काठमाण्डौमा बस्नेहरुबाट गर्ने गरि भएको छ । यद्यपि, दुई वर्षमा आधारशिला तयार गर्ने र त्यसपछि संस्थाको नेतृत्व दमौली साँगे क्षेत्रले गर्दा उपर्युक्त हुने भन्ने विचार महासचिवबाट प्रस्ताव भएको छ । त्यतिन्जेलसम्म त्यहाँबाट नेतृत्व गर्ने गरि ठोस प्रस्ताव आएको खण्डमा अभियानको सामूहिक नेतृत्व साँगे क्षेत्रलाई सुम्पिने बटमलाइन तयार भएको छ ।

प्रश्न ४ : यो अभियानको मूल उद्देश्य के हो ?
साँगे क्षेत्रको धार्मिक, सांस्कृतिक र भौगोलिक सम्पदाको संरक्षण गर्दै दीर्घकालीन, समावेशी र सन्तुलित विकासमा टेवा पुर्‍याउने यस अभियानको मूल उद्देश्य हो। यसले चार आधार स्तम्भ इतिहास र स्मृतिको संरक्षण, सांस्कृतिक पुनर्जागरण, स्थानीय सहभागिता र  शैक्षिक, सांस्कृतिक, पर्यटन  विकासमा काम गर्छ ।अभियानलाई विश्वव्यापी बनाउने गरी हामी अघि बढिरहेका छौँ ।
 

प्रश्न ५ : अभियान अन्तर्गत के–कस्ता गतिविधि सञ्चालन भएका छन् र हुँदै छन् ? 
यो अभियान औपचारिक रूपमा वि.सं. २०८१ फागुन ३ गते, ‘साँगे सम्मेलन २०८१’ मार्फत प्रारम्भ गरिएको कुरा मैले पहिल्यै नै उल्लेख गरिसकेको छु । त्यसयता, करिब ४० वर्षपछि अम्रेनी क्षेत्रमा ‘बालन नाच’ को पुनर्जागरण गर्न हामीले होस्टेमा हैँसे गरेका थियौँ । स्व. आनन्द भण्डारीका छोराहरूको संयुक्त पहलमा फागुन २३ गते सप्ताह कार्यक्रम अन्तर्गत बालन नाच प्रस्तुत गरिएको थियो। साथै, यसै अभियानको निरन्तरतामा चैत्र ३० गते शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुँदैछ।

प्रश्न ६ :  साँगे दर्पण कहिले प्रकाशन हुँदैछ ?
साँगे दर्पणको प्रकाशन कार्य अहिले करिब अन्तिम चरणमा प्रवेश गरिसकेको छ । माग गरिएका सम्पूर्ण लेखकहरूबाट लेख प्राप्त भइसकेका छन् । ती लेखहरूलाई समीक्षात्मक दृष्टिले पुनरावलोकन गरिँदै छ साथै आवश्यक सुझावहरू सम्बन्धित लेखकहरूलाई पठाइएको छ । प्राप्त सुझावहरू समावेश गरी लेखहरूको भाषा सम्पादनको कार्य पनि अन्तिम चरणमा पुगेको छ । यस ऐतिहासिक दस्ताबेजको औपचारिक विमोचन कार्यक्रम २०८२ साल वैशाख २७ गते, शनिवारका दिन गर्ने निर्णय गरिसकिएको छ । यो प्रकाशन न केवल साँगे क्षेत्रको वर्तमान आवाज हो, यो अतीतको स्मृति र भविष्यको मार्गदर्शक पनि बन्नेछ भन्नेमा हामी विश्वास दिलाउन चाहन्छौँ ।।

प्रश्न ७:   प्रकाशन को खर्च कसरी जुटाइएको  छ  ?
यो कार्य पूर्णतः सामूहिक भावनाको बलमा अघि बढिरहेको छ। अभियान सञ्चालन र “साँगे दर्पण” प्रकाशनका लागि आवश्यक खर्च सहयोगी मनहरू र साँगेप्रति आत्मीयता राख्ने व्यक्तिहरूबाट सङ्कलन गरिएको छ भने विज्ञापन र शुभकामनाबाट पनि उठाइएको छ ।  साँगेसँग सम्बन्धित सबैलाई सहभागिताका लागि आह्वान गरिएको छ, किनभने यो हामी सबैको साझा उत्तरदायित्व हो।

प्रश्न ८:   साँगेको दीर्घकालीन विकासका लागि तपाईँहरूको योजना के छ ?
साँगे क्षेत्रको समुचित विकासका लागि पर्यटन र कृषि प्रवर्द्धन, शिक्षा र स्वास्थ्य पूर्वाधारको गुणस्तरीय सुधार, र शैक्षिक तथा सांस्कृतिक केन्द्रको रूपमा विकास गरिने योजना छ। समन्वयात्मक गुरुयोजना निर्माण अभियानको प्राथमिकता हो।

प्रश्न ९ : अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अहिलेको हाम्रो पहिलो प्राथमिकता “साँगे दर्पण” प्रकाशन हो। त्यसपछि दोस्रो अङ्कमा नपुगेका विषयहरू समेटिनेछन्। अभियानप्रति स्वदेश र विदेशमा रहनुहुने सबैमा अपनत्व जागेको छ। एकाध व्यक्तिहरूका व्यक्तिगत स्वार्थ हुन सक्छन् तर अरूले विश्वास गर्नु नै हाम्रो सफलता हो भन्ने हामीले ठानेका छौँ । अन्त्यमा, राज्य दैनिकलाई आफ्नो भनाइ राख्न अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु।