नेपाली सेनाले हालै जारी गरेको विवरणमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिबारे विस्तृत स्पष्टीकरण दिएको छ। सेनाको भनाइमा, आन्दोलनका क्रममा सिंहदरबारसहितका संवेदनशील संरचना जोगाउन बल प्रयोग गरिएको भए ठूलो मानवीय क्षति हुन सक्ने जोखिम थियो, त्यसैले तत्कालीन अवस्थाको मूल्यांकन गरेर संयमता अपनाइएको हो।
सिंहदरबारमा आगजनी रोक्ने प्रयास
सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार, आन्दोलनकारीहरूलाई पटक–पटक रोक्ने प्रयास गरिए पनि उनीहरू जबर्जस्ती सिंहदरबारभित्र छिरेका थिए।
“हामीले हवाइ फायर गरेर चेतावनी दियौँ, गेटमा सम्झाइबुझाई पनि गर्यौँ। तर चारैतिरबाट भीड पसेपछि या त बल प्रयोग गर्नुपथ्र्यो वा पछि हट्नुपथ्र्यो,” उनले भने, “हामीले तत्कालीन परिस्थितिको गम्भीर मूल्यांकनपछि ठूलो क्षति टार्ने निर्णय गर्यौँ।”
उपरथी थापाले सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको तैनाथी र पहलका कारण राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ल्म्बीष डाटा सेन्टर सुरक्षित राख्न सफल भएको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जोगाउने अभियान
सेनाले दाबी गरेको छ कि आन्दोलनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमणको योजना बनाएका थिए।
सहायक रथी मनोज थापाका अनुसार, करिब २ हजार जना भीडमध्ये १५ जनासम्म पेट्रोलसहित विमानस्थल प्रवेशको तयारीमा थिए।
“विमानस्थलमा तोडफोड भएको भए अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि गम्भीर रूपमा प्रभावित हुने थियो,” उनले भने।
सेनाले विमानस्थल सुरक्षित राख्नुका साथै फसेका विदेशी पर्यटकहरूको उद्धार र कूटनीतिक नियोगहरूको सुरक्षामा पनि भूमिका खेलेको जनाएको छ।
पशुपतिनाथ मन्दिर पनि सुरक्षित
२४ गते राति पशुपतिनाथ मन्दिरतर्फ धकेलिएका प्रदर्शनकारीलाई सेनाले हटाएर मन्दिरलाई क्षतिबाट जोगाएको विवरणमा उल्लेख छ।
फौजको परिचालन र क्षति विवरण
सेनाले २४ गते रातिबाट देशको शान्ति–सुरक्षा जिम्मेवारी लिएर काठमाडौं उपत्यकाभित्र ६ हजारभन्दा बढी र बाहिर १८ हजारभन्दा बढी सैनिक परिचालन गरेको थियो। सेनाले जिम्मा लिएपछि ६ देखि ८ घण्टाभित्र सुरक्षा अवस्था सामान्य बन्दै गएको जनाएको छ।
उक्त आन्दोलनका क्रममा देशभर ४८४ स्थानमा प्रदर्शन भएको र ७६ जनाको मृत्यु भएको सेनाले जनाएको छ।
तीमध्ये सेनाका अनुसार २२ जना मात्र जेनजी प्रदर्शनकारी, ३ जना नेपाल प्रहरी, १० जना कैदीबन्दी र ४१ जना अन्य नागरिक थिए।
आगलागी र तोडफोडबाट ठूलो भौतिक क्षति
सेनाले प्रस्तुत गरेको विवरणअनुसार आन्दोलनका क्रममा १,५८० वटा कार्यालय र घरहरूमा क्षति पुगेको छ।
सरकारी कार्यालयः ६८८
प्रहरी कार्यालयः ३०७
निजी निवासः २५९
व्यापारिक प्रतिष्ठानः १२८
राजनीतिक दलका कार्यालयः १९८
यीमध्ये धेरै संरचना पुनर्निर्माण भइसकेका छन्, विशेष गरी प्रहरी कार्यालयहरूलाई मर्मत गरी सेवामा फर्काइएको छ।
लुटिएका हतियार फिर्ता
आन्दोलनका क्रममा ९७८ नाल हतियार (नेपाल प्रहरी र सशस्त्र प्रहरीका) लुटिएका थिए।
सेनाले अहिलेसम्म ५८६ नाल हतियार फिर्ता भएको बताएको छ, जसमा
२७४ नाल नेपाल प्रहरीलाई
१२ नाल सशस्त्र प्रहरीलाई
उपत्यकाभित्रै बुझाइएको छ। बाँकी हतियार फिर्ता लिने प्रक्रिया जारी रहेको सेनाले जनाएको छ।
भीभीआईपी उद्धार
सेनाले आन्दोलनका समयमा १९० जना भीभीआईपी, भीआईपी र तिनका परिवारलाई सुरक्षा दिएको पुष्टि गरेको छ।
तीमध्ये ६१ जनालाई हेलिकोप्टरमार्फत र १२९ जनालाई स्थलमार्गबाट सुरक्षित स्थानमा सारिएको थियो।
त्यसक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्रीहरू र अन्य शीर्ष नेताहरूलाई सेनाको ब्यारेकमा सुरक्षित राखिएको थियो।
टोब समूहमाथि अनुसन्धान
सेनाले जेनजी आन्दोलन भड्काउन भूमिका खेलेको भनिएको “टिबेटन ओरिजिनल ब्लड (टोब्)” समूहबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।
“यो समूहबारे विभिन्न सूचना आएका छन्, हामी अध्ययन गर्दैछौँ,” उपरथी थापाले भने, “यदि तपाईंहरूकहाँ थप प्रमाण छन भने सहयोग गर्नुहोस।”
यो समूहका सदस्यहरूले मोटरसाइकलबाट भीड उक्साउने कार्य गरेको र केहीले हतियार प्रदर्शन गरेको भिडियो प्रमाणसमेत सार्वजनिक भइसकेको सेनाको भनाइ छ।
निष्कर्ष
सेनाको मूल्यांकनमा, तत्कालीन परिस्थितिमा शान्ति–सुरक्षाको नियन्त्रण गर्न अपनाइएका कदमहरू नै सबैभन्दा उपयुक्त निर्णय थिए।
“हामीले त्यसबेलाको अवस्थालाई हेरेर निर्णय गरेका थियौँ,” उपरथी थापाले भने, “अहिले पछाडिबाट हेर्दा कमजोरी देखिए पनि त्यो समयको निर्णय परिस्थिति अनुसारको उत्तम विकल्प थियो।”