सङ्खुवासभामा पहिरोले भेडीगोठ बगायो, २०० बढी भेडा बेपत्ता
News Desk
May-24 तारिख 05:19 बिहान • आज

 

सङ्खुवासभा । मकालु ५ माङ्सिमास्थित फोक्टे क्षेत्रमा  बिहान आएको पहिरोले भेडीगोठ बगाउँदा २०० भन्दा बढी भेडा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार स्थानीय दलबहादुर गुरुङको भेडीगोठ पहिरोमा परेर २१८ भेडा हराएका हुन् । गुरुङका कुल २५० भेडामध्ये ३२ वटा मात्रै जीवित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

लगातार वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो खसेको बताइएको छ । घटनामा भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ । उक्त स्थान नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा तथा झन्डै १० घण्टाको पैदल दूरीमा रहेको जनाइएको छ ।

घटनापछि नुम प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीहरू उद्धार र खोजी कार्यका लागि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।