News Desk
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको दुःखद बस दुर्घटनाको कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीले विशेष छानबिन समिति गठन गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई दुर्घटनाको वास्तविक कारण, घटनाक्रम तथा सम्भावित जिम्मेवार पक्षको पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
बनेपाबाट रोशी खार्पाचोकतर्फ गइरहेको बा३ख ८३९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा आठ जनाको घटनास्थलमै ज्यान गएको थियो। दुर्घटनामा अन्य १६ जना यात्रु घाइते भएका छन् र उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हाल दुर्घटनाको कारणबारे विभिन्न अनुमान भइरहेका बेला प्रहरीले निष्पक्ष र तथ्यपरक अनुसन्धानमार्फत घटनाको वास्तविकता सार्वजनिक गर्ने उद्देश्यले समिति गठन गरेको जनाएको छ। दुर्घटनाले स्थानीयवासी तथा यात्रु सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठाएको छ।