News Desk
खोटाङ । बाँदरले अन्नबाली तथा फलफूल नष्ट गरेर जीवनयापन नै संकटमा पारेको भन्दै जन्तेढुङ्गा गाउँपालिकाका किसानले गाउँपालिका कार्यालय घेराउ गरेका छन्। शुक्रबार चिसापानीस्थित गाउँपालिका कार्यालयमा पुगेका किसानहरूले प्लेकार्डसहित नाराबाजी गर्दै बाँदर समस्याको स्थायी समाधान खोज्न स्थानीय सरकारसँग माग गरेका हुन्।
गाउँपालिकाका विभिन्न वडाबाट घण्टौँ पैदल यात्रा गरेर आएका किसानहरूले कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई भेटेर समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।
प्रदर्शनपछि आयोजित छलफल कार्यक्रममा स्थानीय किसानहरूले बाँदरका कारण खेतीपाती गर्नै नसकिने अवस्था सिर्जना भएको गुनासो गरे। स्थानीय सूर्य राईले बाँदर आतंकका कारण गाउँमा बस्नै कठिन भएको बताउँदै “जनता जोगाउने कि बाँदर जोगाउने भन्ने अवस्था आएको छ” भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले वर्षभरि खानका लागि लगाइने अन्नबाली बाँदरले नष्ट गर्ने गरेकाले किसान विस्थापित हुने अवस्था आएको उल्लेख गर्नुभयो।
किसानहरूको गुनासो सुन्दै गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बाँदर नियन्त्रणका लागि स्थानीय सरकारले अघिल्लो वर्षदेखि नै बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार बाँदर नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्ने योजना बनाइए पनि किसानहरूबाट अपेक्षित समन्वय हुन सकेको छैन। यद्यपि कानुनी व्यवस्थाका कारण बाँदर मार्ने विकल्प सम्भव नभएको उहाँले स्पष्ट पार्नुभयो।
गाउँपालिका अध्यक्ष अरुणादेवी राईले पनि किसानको समस्या प्रति स्थानीय सरकार संवेदनशील रहेको बताउँदै बाँदर नियन्त्रणका वैकल्पिक उपाय खोज्ने प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले बाँदरका कारण किसान मारमा परेको स्वीकार गर्दै कानुनले बाँदर मार्न अनुमति नदिएकाले अन्य प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो।
खोटाङमा पछिल्लो समय बाँदर आतंक गम्भीर बन्दै गएको छ। जिल्लाका अधिकांश स्थानीय तहमा बाँदरले खेतीयोग्य जमिनमा क्षति पुर्याइरहेको किसानहरूको गुनासो छ। यसअघि पनि दिक्तेल बजार क्षेत्रमा बाँदर समस्याविरुद्ध किसानहरूले हलो–कोदालोसहित प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए। प्रशासनले किसानका माग सम्बन्धित निकायसम्म पुर्याउने आश्वासन दिए पनि समस्या समाधान हुन नसकेको किसानहरूको भनाइ छ।
बाँदरको बढ्दो आतंकले खेतीपाती नै संकटमा परेपछि किसानहरूले अब प्रभावकारी र दीर्घकालीन समाधानको मागलाई थप सशक्त रूपमा उठाउने बताएका छन्।