News Desk
कार्तिक शुक्ल पक्षमा मनाइने छठ पर्व बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर मनाइँदैछ। विशेषतः मिथिलाञ्चल र तराई क्षेत्रबाट उत्पत्ति भएको यो पर्व अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाउन थालिएको छ। यो पर्वलाई श्रद्धा, आस्था, र पर्यावरण संरक्षणसँग पनि जोडेर हेर्न सकिन्छ।
छठको ऐतिहासिक र पौराणिक महत्त्व
छठ पर्वको परम्परागत जरो महाभारतकालमा रहेको मानिन्छ। कथनअनुसार, पाँच पाण्डव र द्रौपदीले अज्ञातवासको सफलता र सुरक्षाको कामनासहित सूर्यदेवको पूजा गरेका थिए। सूर्य पुराणअनुसार पनि यस पर्वको आरम्भ अत्रिमुनिकी पत्नी अनुसूयाले आफ्नो अटल सौभाज्ञ र पतिप्रेमको लागि छठ व्रत गर्दै गरेको उल्लेख छ। त्यसै समयदेखि सूर्यको आराधना गर्दै छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।
छठ व्रतको विशेष विधि
चार दिनसम्म मनाइने यस पर्वमा विशेष कठोर व्रत बस्नुपर्ने र विभिन्न विधिहरू पालना गर्नुपर्ने परम्परा छः
१। चतुर्थी (पहिलो दिन) : व्रतीले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्, जसलाई नहाय-खाय भनिन्छ।
२। पञ्चमी (दोस्रो दिन) : यो दिनलाई खरना भनिन्छ। व्रतीले सख्खर खीर बनाएर छठी मातालाई चढाउँछन र त्यसलाई प्रसादको रूपमा ग्रहण गर्छन।
३। षष्ठी (तेस्रो दिन) : मुख्य दिनमा निराहार उपवास बसेर बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दीन्छ।
४। सप्तमी (अन्तिम दिन) : बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समाप्त हुन्छ।
व्रतमा सूर्यको आराधना गर्दा चर्म रोग नलाग्ने र परिवारमा सुख, समृद्धि, तथा सन्तान सुख प्राप्त हुने विश्वास गरिएको छ।
काठमाडौंमा छठको रौनक
विगतमा विशेषतः तराई क्षेत्रमा मात्रै मनाइने छठ काठमाडौं उपत्यकामा पनि धुमधामले मनाउन थालिएको छ। गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, बागमती र विष्णुमतीजस्ता नदी किनारलाई विशेष सजावट गरेर श्रद्धालुहरूको लागि तयारी गरिएको छ। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ, जसले पर्वको महत्त्वलाई अझ बढाएको छ।
छठ पर्व र पर्यावरण संरक्षण
छठमा प्रयोग हुने सामग्रीहरू, जस्तै बाँसका ढकी, फलफूल, र गहुँ-चामलजस्ता अन्न, सबै प्राकृतिक हुन। यी सामग्रीले पर्यावरणीय सन्तुलन कायम राख्न पनि सहयोग पुर्याउँछ। जलाशय तथा नदीहरूमा स्नान र सूर्यलाई अर्घ्य दिने परम्पराले जलस्रोतप्रतिको सम्मान प्रकट गर्दछ, जसले स्वच्छता र हरियालीको सन्देश दिन्छ।
छठ पर्वको सांस्कृतिक पक्ष
छठ पर्वले हिन्दू धर्ममा सूर्य उपासना र आस्थाको महत्त्वलाई मात्र होइन, तर संस्कार, एकता, र सहिष्णुता पनि देखाउँछ। यसमा परिवार, समुदाय, र समाजका सबै उमेरका व्यक्तिहरू सँगै आउँछन। यस पर्वको विविधता र सामूहिकताले हाम्रो सामाजिक जीवनमा थप एकताको सन्देश दिन्छ।
छठ पर्व केवल एक धार्मिक विधि नभई प्रकृति, समाज, र सन्तुलित जीवनशैलीसँग पनि गहिरो रूपमा जोडिएको छ। यस पर्वले धार्मिक मान्यता, सांस्कृतिक पहिचान र पर्यावरणीय चेतनाको उत्कृष्ट मिश्रण प्रस्तुत गरेको छ।