काभा अन्डर–१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालको लगातार दोस्रो जित 
News Desk
Nov-07 तारिख 07:34 बिहान

काभा अन्डर–१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले शानदार प्रदर्शन गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।

श्रीलंकाको कोलम्बोमा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो तीन सेटमा पराजित गर्न सफल भएको हो। पहिलो सेटमा नेपालले २५–७ को स्पष्ट जित दर्ता गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। त्यसपछि दोस्रो सेटमा पनि २५–१० र तेस्रो सेटमा २५–११ को नतिजासँगै नेपालले माल्दिभ्सलाई पूर्ण रूपमा दबाबमा राख्दै जित आफ्नो पक्षमा पारेको हो।

यससँगै नेपालले तीन खेलबाट जम्मा ७ अंक हासिल गरेको छ। बुधबारको खेलमा नेपालले श्रीलंकालाई ३–१ सेटले हराएको थियो भने पहिलो खेलमा किर्गिस्तानसँग कडा प्रतिस्पर्धापछि ३–२ सेटमा पराजित भएको थियो।

चार टोली सहभागी च्याम्पियनसिपमा राउन्ड–रोबिन लिग चरणपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ। त्यसपछि फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा कात्तिक २३ गते तय गरिएको आयोजकले जानकारी दिएको छ।