News Desk
काठमाडौं– दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जितका साथ प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। पहिलो खेलमै बलियो प्रदर्शन गरेका सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले हराउँदै २ अंक प्राप्त गर्यो। हर्मित सिंहको आक्रामक ब्याटिङ र हेमन्त, स्कट तथा हर्मितकै प्रभावशाली बलिङ सुदूरको जितका प्रमुख आधार बने।
टस जितेर बलिङ रोजेको काठमाडौंले सुरुवातमै दबाब बनायो। दोस्रो बलमै जस ब्राउन र त्यसै ओभरको अन्तिम बलमा विनोद भण्डारीलाई शून्यमै आउट गर्दै करण केसीले उत्कृष्ट सुरुवात दिलाए। क्रिस लिनलाई पनि २ रनमै पभेलियन फर्काएपछि ३ विकेटको क्षतिमा सुदूरपश्चिम ४ रनमै झस्किएको थियो। आरिफ शेख, इशान पाण्डे र नरेन साउद पनि ठूलो योगदान दिन नसक्दा सुदूरले १५ ओभरसम्म ८० रन मात्रै जोड्न सक्यो। तर १६ र १७ औं ओभरमा हर्मित सिंहले खेलको मोड बदलिदिए। लगातार छक्का–चौकासहित उनले १९ बलमा ५३ रन बनाए। दीपेन्द्र सिंह ऐरीका ३९ रनको साथ मिल्दै सुदूरपश्चिमले २० ओभरमा १४७ रनको चुनौती पेस गर्यो।
जवाफी ब्याटिङमा काठमाडौंले पनि राम्रो सुरुवात गरे पनि निरन्तर विकेट पतनले लक्ष्य पछ्याउन कठिन बनायो। बेन चाल्सवर्थ र भीम सार्की ढिलो टिक्न नसक्दा ३९ रनमै ३ विकेट गुमाएको काठमाडौंले १० ओभरमा ८७ रन जोड्दै सम्भावना जीवित राखेको थियो। तर १२ औं ओभरमा हर्मितले लगातार दुई विकेट लिँदै खेल सुदूरतर्फ मोडिदिए। आकाश त्रिपाठीका ३४ रन र जोन सिम्पसनका २४ रन उपयोगी भए पनि अन्तिम ओभरहरूमा काठमाडौंको ब्याटिङ धराशायी भयो। स्कट कुगलेन, हेमन्त धामी र हर्मित सिंहले २/२ विकेट लिँदै काठमाडौंलाई १६।५ ओभरमै ११८ रनमा समेटे।
यस जीतसँगै सुदूरपश्चिमले पहिलो खेलमै प्रभाव जमाउँदै २ अंक बटुल्यो। काठमाडौंले भने २ खेलमा २ अंकसहित आफ्नो यात्रा अघि बढाएको छ। भोलि लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका छ।