दोस्रो महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित
News Desk
Nov-21 , 2025 तारिख 06:52 बिहान

नेपालले बङ्गलादेशको ढाकामा जारी दोस्रो महिला कबड्डी विश्वकपमा आफ्नो तेस्रो जित दर्ता गरेको छ। बिहीबारको महत्वपूर्ण खेलमा नेपालले केन्यालाई २८–२१ को रोमाञ्चक अन्तरले पराजित गर्दै समूह चरणमा उत्कृष्ट प्रदर्शन कायम राख्यो।

खेलको पहिलो हाफमा नेपाल १३–११ ले मात्र दुई अंकको झिनो अग्रतामा थियो। तर दोस्रो हाफमा नेपाली टोलीले लय समाउँदै थप १५ अंक जुटायो र जितलाई सुरक्षित बनायो। चार खेल खेलेको नेपाल अहिले समूह चरणमा तीन जित र एक हार सहित बलियो स्थितिमा छ।

नेपालले प्रतियोगिताको सुरुवात जन्जिबारविरुद्ध ५८–१६ को एकतर्फी जीतसँग गरेको थियो। बुधबार भने नेपालको प्रदर्शन मिश्रित रह्यो—चाइनिज ताइपेईसँग ३१–१५ ले पराजित भए पनि अर्को खेलमा पोल्यान्डलाई ६३–२५ ले भारी अन्तरमा हराउँदै पुनः आत्मविश्वास फर्काएको थियो।

१३ वर्षपछि आयोजना भइरहेको महिला कबड्डी विश्वकप यसअघि सन् २०१२ मा भारतको पटनामा पहिलोपटक सम्पन्न भएको थियो। त्यो संस्करणमा भारतले उपाधि जितेको थियो भने इरान दोस्रो र जापान तेस्रो भएका थिए।

यो पटक नेपालको प्रदर्शनले सेमीफाइनल लक्ष्यतर्फ सकारात्मक संकेत दिएको छ।

धेरै पढिएको