News Desk
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले मार्क वाटको अविश्वसनीय छिटो शतकको बलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। वाट आजै सर्वाधिक छिटो शतक बनाउने मात्र होइन, एनपिएलमा व्यक्तिगत सर्वाधिक रन जोड्ने खेलाडी पनि बनेका छन्।
लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै १ विकेटको क्षतिमा ‘चेज’ गर्यो। ओपनर प्रियंक पाञ्चल १२ रनमा आउट भए पनि कर्णालीले पावर प्लेमै ६३ रन जोडेर बलियो सुरुवात गर्यो। बसिस्टो र वाटको जोडीले लुम्बिनीका बलरलाई दबाबमा राख्दै विशाल साझेदारी बनाएका थिए।
मार्क वाट पूर्ण रूपमा ‘डोमिनेट’ भए। २९ बलमा अर्धशतक प्रहार गर्दै उनले लगातार चौका–छक्काको वर्षा नै गरे। अन्ततः उनले ४१ बलमा ६ चौका र १० छक्का प्रहार गर्दै सय रन पूरा गरे—यो एनपिएल इतिहासकै छिटो शतक बनेको हो। पहिलो सिजनमा एन्ड्रेस गसले ५५ बलमा बनाएको १०४ रनको पुरानो छिटो शतकसमेत योले नाघेको छ।
कर्णालीका बलर मध्ये सेर मल्लले एक विकेट लिए भने लुम्बिनी बलिङ पक्ष आज पूर्ण रूपमा कमजोर देखियो। उत्कृष्ट ब्याटिङ प्रदर्शनसहित कर्णालीले प्रतियोगितामा पहिलो जित दर्ता गर्दै अंकतालिकामा २ अंक थप्न सफल भयो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। सुरुवात अत्यन्तै कमजोर रह्यो—४ ओभरमा जम्मा ७ रन मात्रै जोडेका लुम्बिनीले १ रनमै सन्दीप जोरालाई गुमाएको थियो। नन्दन यादवको बलमा बसिस्टोले शानदार क्याच लिएका थिए।
पावर प्लेको अन्तिम ओभरमा १८ रन आएपछि स्थिति केही सुधारिए पनि लुम्बिनीले लगातार ओभरमा विकेट गुमाउँदै दबाब झेल्यो। डार्सी सर्ट १९ मा आउट भए भने दिलिप नाथलाई मार्क वाटले कट एन्ड बोल्ड गर्दै पभेलियन पठाए। ६१ रनमै ४ विकेट खसिसकेपछि टोली कठिन अवस्थामा पुगेको थियो।
कप्तान रोहित पौडेलले ४९ रनको योगदान दिएर टिमलाई उकास्ने प्रयास गरे। अन्तिम पाँच ओभरमा टोलीले ६८ रन जोड्दै प्रतिष्पर्धात्मक स्कोर बनायो। रूबेन ट्रुम्पलम्यान २९ रनमा अविजित रहे भने जेजे स्मिथले १४ बलमा २३ रन बनाए।
कर्णालीतर्फ नन्दन यादवले २ विकेट लिए भने सोमपाल, गुल्सन, विपिन, युवराज र वाटले समान १–१ विकेट योगदान दिए।
लुम्बिनीका लागि यो पहिलो हार हो। उनीहरूले दुई खेलमा २ अंक बनाएका छन्। कर्णालीले भने दोस्रो खेलमै पहिलो जित निकाल्दै बराबरी अंक जोडेको छ। आजै अर्को खेल विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच हुनेछ।