News Desk
नेपालले प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा शानदार प्रवेश गरेको छ। सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाली महिला टिमले ऐतिहासिक सफलता हात पारेको हो।
पाकिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याउँदै नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा विजय हासिल गर्यो। कप्तान विनिता पुन ४६ रनसहित टिमकी शीर्ष स्कोरर बनिन्, भने सुष्मा तामाङले ३६ रन जोडेकी थिइन्। मनकेसी चौधरीले १७ रन योगदान दिँदा सरिता घिमीरे १९ रनसहित अविजित रहिन्। विनिता सोमाई भने ६ रनमा रन आउट भएकी थिइन्।
यसअघि पाकिस्तानले निर्धरित २० ओभरमा ६ विकेट गुमाई १६९ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो। पाकिस्तानका लागि मेरीन अलिले अविजित ५५ रन र वुस्रा अस्राफले ४८ रनको बलियो साझेदारी गरेका थिए।
अब नेपाल उपाधिका लागि आइतवार भारतसँग भिड्नेछ। अष्ट्रेलियालाई हराउँदै भारत पहिले नै फाइनलमा पुगिसकेको छ। उपाधि निर्णायक खेल श्रीलंकाको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट ग्राउण्डमा आइतवार आयोजना हुनेछ।