News Desk
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई आकर्षक प्रतिस्पर्धा हुनेछन्। बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स आमनेसामने हुनेछन् भने दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ।
विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छन्, जबकि जनकपुर र कर्णाली आफ्नो लय फिर्ता ल्याउने दबाबमा छन्। यस संस्करणमा विराटनगरको तालमेल, विशेषतः घरेलु र विदेशी खेलाडीबीचको समन्वय, प्रभावशाली देखिएको छ। पोखरा र काठमाडौँविरुद्ध सहज जित निकाल्दै विराटनगर प्लेअफ नजिक पुगेको छ। गत वर्ष जति प्रभावशाली नदेखिएको विराटनगरलाई यस पटक उपाधिका मुख्य दाबेदारमध्ये एक मानिँदैछ।
साबिक च्याम्पियन जनकपुर भने पहिलो खेलमै काठमाडौंसामु ५ विकेटले पराजित भएको थियो। टोली कागजमा बलियो देखिए पनि अधिकांश खेलाडीबाट अपेक्षित योगदान नआएपछि विराटनगरको चुनौती सामना गर्दै पुनरागमन गर्ने कठिन दबाब छ। Interestingly, गत संस्करणको उद्घाटन खेलमा जनकपुरले नै विराटनगरलाई ८ विकेटले हराएको थियो।
आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन्। लगातार दुई खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा छिर्न चाहन्छ। गत वर्ष उत्कृष्ट खेल खेले पनि उपाधि जित्न चुकेको सुदूरपश्चिम यसपटक शीर्ष स्थान सुरक्षित गर्ने दाउमा छ। अनुभवी विदेशी ब्याटरको साथ र तल्लोक्रमसम्म भरपर्दो विकल्पहरू सुदूरपश्चिमको बलियो पक्ष मानिन्छ।
कर्णालीले भने पहिलो खेलमा चितवनसँग हार बेहोरेपछि दोस्रो खेलमा लुम्बिनी लायन्समाथि ९ विकेटको भारी जित निकाल्दै उत्कृष्ट पुनरागमन गर्यो। मार्क वाटको विस्फोटक प्रदर्शनले टोलीलाई पुनः आत्मविश्वास दिलाएको छ। गत संस्करण उनीहरूले नेट रनरेटको आधारमा प्लेअफ स्थान सुरक्षित गरेका थिए र यसपटक सहज यात्राको उद्देश्य राखेका छन्। यी दुवै टोलीबीच गत वर्ष भएको खेलमा सुदूरपश्चिम ६ विकेटले विजयी भएको थियो।
८ खेल सम्पन्न भइसकेपछि काठमाण्डु गोर्खाज ३ खेल, जनकपुर १ खेल, र बाँकी टोलीहरूले २–२ खेल खेलेका छन्। पहिलो पटक प्यारापिट र फ्लड लाइटमा भइरहेको एनपीएलले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ र मैदानमा प्रतिस्पर्धा उस्तै रोचक बन्दै गएको छ।
हालसम्मको लिगमा ब्याटिङमा विदेशी खेलाडी हावी रहे पनि बलिङतर्फ नेपाली खेलाडीहरूले प्रभावशाली प्रदर्शन गरिरहेका छन्। ८ खेलपछि विराटनगर र सुदूरपश्चिम दुवै अपराजित छन्, समान ४–४ अंक भए पनि नेट रनरेटका आधारमा विराटनगर शीर्षस्थानमा रहेको छ। जनकपुर र पोखरा एभेन्जर्सले भने अहिलेसम्म कुनै खेल जित्न सकेका छैनन्।