सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली याक्स ४५ रनले पराजित
News Desk
Nov-24 , 2025 तारिख 07:56 बेलुका

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिँदै आजको खेलमा पनि जित दर्ता गरेको छ। लगातार तेस्रो जित निकाल्दै सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै अंक तालिकामा बलियो स्थान जमाएको हो।

१ सय ४० रनको लक्ष्य लिएर मैदान उत्रेको कर्णाली १९ ओभर २ बलमै ९४ रनमा समेटियो। कर्णालीका पवन सर्राफले २७ रन र मार्क वाटले १७ रन जोडे पनि टोलीलाई जितको नजिक पुर्‍याउन सकेनन्। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट फार्ममा देखिए, उनले ४ विकेट झारे। त्यस्तै हर्मित सिंह र अविनाश बोहराले पनि समान २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रनको योगफल बनाएको थियो। कप्तान ऐरीले नै टोलीका लागि सर्वाधिक ३९ रनको योगदान दिए। बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए।

यो जितसँगै सुदूरपश्चिम रोयल्स ३ खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ। कर्णाली भने ३ खेलमा एक जितसहित छैटौँ स्थानमै अडिएको छ।

यसअघि आजै सम्पन्न पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो खेलमा विराटनगरले उत्कृष्ट बलिङ प्रदर्शनका आधारमा जित सुरक्षित गरेको हो।

 

धेरै पढिएको