चितवन राइनोजको शानदार प्रदर्शन, विराटनगर किङ्स ४८ रनले पराजित
News Desk
Nov-27 , 2025 तारिख 06:26 बिहान

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले उत्कृष्ट खेल प्रदर्शन गर्दै अहिलेसम्म अपराजित रहेको विराटनगर किङ्सलाई ४८ रनले पराजित गरेको छ। लगातार ३ खेल जित्दै शीर्ष स्थानमा रहेको विराटनगरले चौथो खेलमै पहिलो हार व्यहोर्नु परेको छ। यससँगै चितवन ४ अंक जोड्दै तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

विराटनगरको कमजोर सुरुआत, रन्जितको पाँच विकेटको कमाल

१ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमै १ सय २६ रनमा समेटियो। पावर–प्लेमा ४ विकेट गुमााउँदै ३७ रनमा सिमित भएपछि विराटनगर दबाबमा परेको थियो।

चितवनका रन्जित कुमारले आफ्नो पहिलो खेलमै चम्किलो प्रदर्शन गर्दै ४ ओभरमा ५ विकेट लिए। अष्ट्रेलियन ब्याटर सामु हेजललेटलाई २३ रनमा एलबिडब्लु आउट गर्दै उनले विराटनगरको मध्यमक्रम धराशायी बनाए। निरन्तर विकेट पतनसँगै विराटनगर ४७/७ को अवस्थासम्म पुग्दा खेल तर्फ सेतो झन्डा फहराएको जस्तै भएको थियो।

डि लाङ्गे र जिसीको प्रयास पर्याप्त भएन

मर्चान्ट डी लाङ्गे (२२ बलमा ३९ रन) र प्रतिश जिसी (१२ बलमा ३० रन) ले अन्तिमतिर आक्रामक पारी खेल्दै स्कोर १०० पार गरे पनि टिमलाई लक्ष्य नजिक पुर्‍याउन सकेनन्।

चितवनका कमल ऐरीले पनि २ विकेट लिए।

 बोपराको महत्त्वपूर्ण अर्धशतक

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले सुरुआतमा २ विकेट गुमाउँदै ४७ रन मात्रै जोडेको थियो। मर्चेन्ट डी लाङ्गेले दुवै ओपनरलाई आउट गर्दै विराटनगरलाई उत्कृष्ट सुरुआत दिलाए।

तर सेफ जेब र देव खनालले ४२ रनको साझेदारी गर्दै पारी उकासे। खनाल २८ रनमा आउट भए पनि त्यसपछि रवि बोपराले जिम्मेवारीपूर्ण पारी खेले।

४ रनमा जीवनदान पाएका बोपराले ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ बलमा ६५ रनको महत्वपूर्ण अर्धशतक बनाए। बोपराको पारी नै चितवनको पक्षमा खेल मोड्ने निर्णायक साबित भयो।

कप्तान कुशल मल्ल २० रनमा अविजित रहे।

 

धेरै पढिएको