पोखरा एभेन्जर्सको प​हिलो जित​
News Desk
Nov-28 , 2025 तारिख 06:29 बिहान

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा पहिलो जीत हासिल गर्दै प्रतियोगितामा पुनरागमन गर्ने संकेत दिएको छ। शनिबारको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै पोखराले अंक तालिकामा आफ्नो पहिलो २ अंक जोड्न सफल भयो। जनकपुर भने लगातार तेस्रो खेलमा हार्दै अझैपनि अंकविहीन छ।

पोखराको जितमा बलर विपिन खत्रीको सुरुको घातक स्पेल निर्णायक बन्यो। उता जनकपुरले दोस्रो इनिङ्सभर जिम्मेवारीपूर्ण ब्याटिङ गर्न नसक्दा लक्ष्य पछ्याउने अभियान सुरुआतमै कमजोर भयो।

जनकपुरको कमजोर सुरुआत

१ सय ५६ रनको लक्ष्य पछ्याउन उत्रिएको जनकपुरले पावर–प्लेमा नै ४ विकेट गुमाएर ३७ रन मात्र जोड्यो। पहिलो ओभरमै विपिनले आशिफ शेखलाई गोल्डेन डकमा पठाउँदै सुरुआतमै जनकपुरलाई दबाबमा पारे। सोही ओभरमा शुभ कंशकार पनि बोल्ड आउट भए।

चौथो ओभरमा सुमित बर्माले लगातार आक्रमण गर्दै जान निकोलोफलाई २ रनमा र ओपनर माज सडाकतलाई २० रनमा पभेलियन फर्काए। त्यसपछि सातौं ओभरमा कप्तान अनिल शाह पनि त्रितराजले क्याच लिएपछि ३७ रनमै जनकपुर ५ विकेट गुमाइसकेको थियो।

निरन्तर अन्तरालमा विकेट झर्दै जाँदा कुनै दह्रो साझेदारी बन्न सकेन। मध्यक्रम र तल्लोक्रमको कमजोर प्रदर्शनले स्थिति झनै जटिल बनायो। मयंक यादव ४ रनमा, सञ्जय कृष्णमुर्ती २५ रनमा र रूपेश सिंह ७ रनमा आउट हुँदा जनकपुर ९१/८ मा झरिसकेको थियो।

वाइनी पार्नेलले भने अन्त्यतिर संघर्षपूर्ण अर्धशतक प्रहार गर्दै केही आशा जगाए। उनले ३८ बलमा २ चौका र ४ छक्का हान्दै ५० रन बनाए तर रिटायर्ड हर्ट हुँदै बाहिरिनुपर्‍यो। ललित राजवंशी १० रनमा अविजित रहे।

विपिन खत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ मात्र रन दिएर ४ विकेट लिएका थिए। सुमितले २ तथा कुशल र निशमले १–१ विकेट जोडे।

पोखराको इनिङ्स

यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। ओपनर दिनेश खरेल र एडम रोसिङ्टनले उत्कृष्ट सुरुआत दिलाउँदै प्रारम्भिक साझेदारीमा ६१ रन जोडे। एडम २४ रनमा आउट भए।

तर त्यसपछि पोखराले ३ रन भित्र ३ विकेट गुमाएर दबाबमा परेको थियो। कप्तान कुशल भुर्तेल गोल्डेन डकमा आउट भए भने दिनेश खरेल (३८) र जेम्स निशम पनि छिट्टै पभेलियन फर्किए।

मध्यक्रममा सुमित बर्मा र त्रितराज सिंहले ब्याटिङ सम्हाल्दै पाँचौँ विकेटका लागि महत्वपूर्ण ७२ रनको साझेदारी गरे। त्रितराज २९ रनमा रन–आउट भए भने ड्यान डाउथवेट ७ रनमा आउट भए।

सुमित भने अन्तिमसम्म टिक्दै २८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५० रनमा रहे। जनकपुरका बलर सञ्जय कृष्णमुर्ती सर्वाधिक सफल रहे—४ ओभरमा २१ रन दिएर ३ विकेट हात पारे। अनिल शाह र ललित राजवंशीले १–१ विकेट लिए।

यो नतिजासँगै पोखराले ३ खेलपछि पहिलो जित दर्ता गर्दै प्लेअफ सम्भावनालाई जिउँदो राखेको छ। जनकपुर भने तीन खेलमै हार्दै अझै अंकविहीन छ।

 

धेरै पढिएको