काठमाडौं गोर्खाजको शानदार प्रदर्शन, चितवन राइनोज ५३ रनले पराजित 
News Desk
Nov-28 , 2025 तारिख 03:54 बेलुका

काठमाडौं |  काठमाडौं गोर्खाजले शानदार प्रदर्शन गर्दै चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ। यस जितसँगै काठमाडौं ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ, जबकि चितवनले प्रतियोगितामा आफ्नो दोस्रो हार ब्यहोरेको छ।

टस जितेर फिल्डिङ रोजेको चितवनले काठमाडौंलाई १९ ओभर ४ बलमा १४२ रनमै समेट्यो। कमजोर सुरुवात गरे पनि मिलिन्द र जोन सिम्पसनबीचको ९८ रनको साझेदारीले काठमाडौंलाई सम्मानजनक योगफलसम्म पु-यायो। सिम्पसनले उत्कृष्ट ६० रन जोडे भने मिलिन्दले ३८ रनको योगदान दिए।

चितवनका लागि सोहेल तनबीर प्रभावशाली रहे— उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। रन्जित र कमलले २–२ विकेट निकाल्दै काठमाडौंलाई दबाबमा राखे।

तर, १४३ रनको लक्ष्य पछ्याउन उतरेको चितवनको ब्याटिङ आरम्भदेखि नै धरासायी भयो। ७ ओभरमै ३२ रनमा ४ विकेट गुमाएको चितवन खेलमा फर्किन सकेन। निरन्तर विकेट पतनले कुनै सोलिड साझेदारी बन्न पाएन। कप्तान कुशल मल्ल ६ रनमै आउट भए भने भरपर्दा खेलाडी रबि बोपरा पनि २१ रनमा पवेलियन फर्किए।

चितवनले १७.२ ओभरमै ८९ रनमा समेटिँदा काठमाडौंका बलरहरू चम्किए। रसिद खानले १.२ ओभरमा ३ रन मात्र दिँदै ३ विकेट लिए। मिलिन्द, करण, कमल र साहबले समान २–२ विकेट हात पारे।

चितवन १४ ओभर ५ बलमा ७१ रनमै ७ विकेट गुमाइसकेको अवस्थामा लक्ष्य निकै टाढा बन्दै गयो। आठौँ विकेटका रूपमा सोहेल तनबीर १८ रनमा आउट भएपछि चितवनको संघर्ष झनै कमजोर भयो र टोली ९० रन पार गर्न समेत असफल रह्यो।

यो जितसँगै काठमाडौंले पाँच खेलमा तेस्रो सफलता हात पारेको छ। चितवनले भने ४ खेलमा २ जित र २ हारका साथ ४ अंक जोडेको छ।

 

धेरै पढिएको