विराटनगर किङ्सको रोमाञ्चक जित, कर्णाली याक्स पुनः पराजित
News Desk
Nov-29 , 2025 तारिख 11:02 बिहान

काठमाडौं |दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किङ्सले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो चौथो जित दर्ता गरेको छ। बसिर अहमदको अविजित इनिङ्स विराटनगरको जितको आधार बन्यो। यस जितसँगै विराटनगरले प्ले अफको दाबीदारी बलियो बनाएको छ भने कर्णालीले तेस्रो हार व्यहोर्नुपर्‍यो।

१६१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाएर खेल आफ्नो पक्षमा पारेको हो। सुरुवात भने कमजोर रह्यो—पहिलो पावर प्लेमा ३५ रन बनाउँदा टप अर्डरका तीन विकेट खोनपरे।

जर्ज मुन्से खाता नखोली पवन सर्राजको बलमा आउट भए। अनुभवी विकेटकिपर शुभम रञ्जने बाँकी खेल नखेल्ने भएपछि पहिलोपटक खेलिरहेको दीपक डुम्रेले क्याच समाते। लोकेश बम ६ रनमा बसिस्टोलाई क्याच थमाउँदै आउट भए भने १६ रन बनाएका साम हेजललेटलाई सोमपालले पेभिलियन फर्काए।

३ विकेटमा २९ रनमा पुगेको विराटनगरलाई साझेदारीको खोज थियो। साहिल पटेल र बसिर अहमदले पारी सम्हाल्ने प्रयास गरे । रन नबनाउँदै साहिललाई एउटा जीवनदान मिल्यो। १० ओभरसम्म विराटनगर ५६/३ मा सीमित रहँदा ६० बलमा १०५ रन जोड्ने चुनौती थियो।

१२ औँ ओभरमा गुल्सन झालले खेल मोडिदिए—साहिल (१९) र मर्सान्ट डी लाङ्गे (२) दुबैलाई आउट गरेर विराटनगरलाई ६५/५ मा पुर्‍याए।
तर त्यसपछि बसिरको शान्त र संयमित ब्याटिङले खेलमा नयाँ मोड आयो।

१६ औँ ओभरमा १९ रन निकालेर रनरेट बढाइएको विराटनगर १७ औँ ओभरमा भाग्यमानी पनि बन्न पुग्यो—नरायण जोशी नो बलमा क्याच आउट भए। केहीपछि बसिरले सोमपालको बलमा चौका प्रहार गर्दै ३७ बलमा अर्धशतक पुरा गरे।

बसिर र नारायणबीच छैटौँ विकेटका लागि ६९ रनको साझेदारी भयो। १४ बलमा २७ रन आवश्यक हुँदा नारायण २५ रनमा आउट भए। अन्तिम क्षणमा विकेट झरे पनि रन बनिरह्यो।

अन्तिम ६ बलमा १० रन आवश्यक परेको अवस्थामा नन्दन यादवले अंतिम ओभर फाल्दै दबाब सिर्जना गर्ने अवसर पाए। तर विराटनगरले ५ बलमै लक्ष्य पुरा गर्‍यो। बसिर ४३ बलबाट ३ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहे।

बलिङतर्फ सोमपाल र गुल्सनले २–२ विकेट हात पारे।

कर्णालीको ब्याटिङ: प्रियांक–बसिस्टो चम्किए

टस जितेर पहिले ब्याटिङ गरेका कर्णाली याक्सले २० ओभरमा १६०/३ रन बनाए।

मार्क वाट ६ रनमा आउट भए। त्यसपछि विलियम बसिस्टो र प्रियांक पाञ्चालले दोस्रो विकेटका लागि ९६ रनको बलियो साझेदारी गरे। बसिस्टो २ रनमै जीवनदान पाएका थिए।

प्रियांकले ४० बलमा ४ चौका र २ छक्का सहित अर्धशतक पूरा गरे, यो लिगमा उनको दोस्रो ५० प्लस स्कोर हो। उनी ६३ रनमा रनआउट हुँदा कर्णालीको स्कोर १४६ रन थियो।

गुल्सनले आक्रामक ब्याटिङ गर्दै २० रन जोडे तर सन्दीपको बलमा एलबिडब्लु आउट भए। बसिस्टो अविजित ४८ रनमा रहे।

विराटनगरका मर्सान्ट र सन्दीपले १–१ विकेट लिए।

विराटनगरको यो जितपछि अंक ८ पुगेको छ, जबकि कर्णाली २ अंकमै सीमित छ।

अन्य खेलहरू

अर्को खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराउँदै तेस्रो जितसहित अंक तालिकामा तेस्रो स्थान ओगटेको छ।

 पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुने छ। दोस्रो खेलमा लगातार ४ जितसहित उत्कृष्ट फर्ममा रहेको सुदूरपश्चिम रोयल्सले साविक विजेता जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।

 

धेरै पढिएको