News Desk
एनपीएलको आजको दोस्रो खेलमा पछिल्लो सिजनका विजेता र उपविजेता आमनेसामने हुँदैछन। यद्यपि, यसपटक डिफेन्डिङ च्याम्पियन जनकपुर निकै दबाबमा छ, टिमले लगातार तीन खेल गुमाएको छ र लय पुनः फर्काउने प्रयासमा रहेको छ। आजको भिडन्तले जनकपुरलाई पुनरागमनको अवसर त दिएको छ, तर उत्कृष्ट फर्ममा रहेको सुदूरपश्चिमलाई हराउन भने सजिलो देखिँदैन।
अंकतालिकाले पनि यही संकेत गर्छ। शीर्षस्थानमा रहेको सुदूरपश्चिम र सबैभन्दा तल रहेको जनकपुरबीचको यो मुकाबिला कागजमा असमान देखिए पनि दुवै टिमको समर्थक संख्या सर्वाधिक भएकाले खेल मैदानभित्र मात्रै होइन, बाहिर पनि उत्तिकै चर्चित बनेको छ। लिगमा सुदूरपश्चिम हालसम्म अपराजित छ।
सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमाडौं गोर्खाजलाई, दोस्रो खेलमा पोखरालाई १८ रनले र तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको थियो। पछिल्लोपटक लुम्बिनीविरुद्ध सहज जित निकाल्दै रोयल्स उत्कृष्ट लयमा पुगेको छ। बलिङ, ब्याटिङदेखि फिल्डिङसम्म सन्तुलित संयोजन भएकाले यो टिम कमजोर अवस्थाबाट पनि बलियो कमब्याक गर्न सक्ने टोलीका रूपमा पहिचान बनाइसकेको छ।
जनकपुरका दृष्टिकोणले हेर्दा पनि आजको खेल महत्वपूर्ण छ। आसिफ शेख, शुभ कंशाकर, आदित्य महताजस्ता आक्रामक ब्याट्सम्यान, तथा मनोय यादव र अनिल शाहजस्ता भरोसायोज्ञ खेलाडीहरूले टिममा बलियो आधार बनाएका छन। निकोल लोफ्टी इटन, वायन पर्नेल र लाहिरु मिलान्थाजस्ता विदेशी खेलाडीको उपस्थितिले पनि जनकपुरलाई थप शक्ति दिएको छ। टिमले आफ्नो क्षमताको सही उपयोग गर्न सके, कुनै पनि प्रतिस्पर्धीलाई चुनौती दिन सक्छ।
आजको भिडन्तमा मिलान्था, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र हरमित सिंह खेलको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।