News Desk
काठमाडौं गोर्खाजले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै आफ्नो प्ले अफ यात्रालाई थप मजबुत बनाएको छ। आजको जितसँगै काठमाडौं रनरेटको आधारमा दोस्रो स्थानमा उक्लिएको छ, जबकि लगातार चौथो हारसँगै कर्णालीको छनोट सम्भावना अब गणितीय हिसाबमा मात्र सीमित भएको छ।
काठमाडौंको सफल रन–चेस
१ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १८ ओभरमै ५ विकेट गुमाएर सहज जित दर्ता गर्यो। पावरप्लेमा ४६/१ रन बनाएर राम्रो सुरुवात गरेको काठमाडौंले ओपनर बेन चार्लसबर्थको ३४ रन र आकाश त्रिपाठीको ८ रनले इनिङलाई गति दिएको थियो।
मिलिन्द कुमार (१५) रन आउट भएपछि इरासमस र जोन सिम्पसनले ४थो विकेटका लागि ८६ रनको उत्कृष्ट साझेदारी गर्दै जितको आधार तयार गरे।
इस्कोर बराबरी भइसकेपछि जोन सिम्पसन आउट भए पनि भीम सार्कीले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। जेराड इरासमस ४३ रनमा अविजित रहे।
कर्णालीको तर्फबाट नन्दन यादवले ३ विकेट लिए।
कर्णाली याक्सको संघर्षपूर्ण ब्याटिङ
टस जितेर ब्याटिङ थालेको कर्णालीले पहिलो ओभरमै २ विकेट गुमाएर खराब सुरुवात गर्यो।
तर मार्क वाट (३०) र पवन सर्राफ (३५) ले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै टिमलाई उबार्न खोजे।
मध्यक्रम पतन भएपछि कर्णाली फेरि दबाबमा पर्यो, तर गुल्सनले २२ बलमा ४९ रनको धमाकेदार अविजित पारी खेल्दै टिमलाई १ सय ४९ रनसम्म पुर्याए।
काठमाडौंका रसिद खानले २ विकेट लिए, जबकि करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट झारे।
अंक तालिका स्थिति
छैटौं खेलबाट चौथो जित निकाल्दै काठमाडौं ८ अंकसहित दोस्रो स्थानमा पुगेको छ।
कर्णाली भने पाँच खेलमा एक जितसहित २ अंकमै रोकिएको छ र उसको प्ले अफको सम्भावना अब अत्यन्त न्यून बनेको छ।