News Desk
पोखरा एभेन्जर्सले मंगलबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक प्रतिस्पर्धामा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफको दौडमा आफूलाई जोगाइराख्न सफल भएको छ। टोलीका ओपनर एडम रोसिङ्टनले विस्फोटक शतकीय इनिङ खेलेपछि पोखराले विशाल योगफल खडा गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १ रनको ठूलो स्कोर बनायो। रोसिङ्टन ६३ बलमा अविजित १०८ रनसहित क्रिजमै रहे। उनको पारीमा ठूला प्रहारको उत्कृष्ट समायोजन देखियो। एनपीएल इतिहासमा २ सय रन पार गर्ने पोखरा दोस्रो टोली बनेको हो, जसअघि विराटनगर किंग्सले पोखराविरुद्ध २ सय २० रन बनाएको थियो।
लक्ष्य पछ्याउन आएको कर्णाली याक्सले सुरुवाती सम्भावना देखाए पनि १९ ओभरमै १ सय ६७ रनमा समेटियो। कर्णालीका ब्याटर वाटले ३४ बलमा आक्रामक ५९ रन जोडे– ४ चौका र ५ छक्कासहित। तर उनको उत्कृष्टता पनि टोलीलाई संकटबाट उक्श्याउन पर्याप्त बनेन।
कर्णालीका अन्य खेलाडीमध्ये प्रियांक पाञ्चालले ११ बलमा २ छक्का प्रहार गर्दै १६ रन बनाएका थिए। जयकिशन कोल्सावाला ६ रनमै फर्किए, भने पवन सर्राफले १४ बलमा १ चौका र १ छक्का सहित १९ रन जोडे। नाजिबुल्लाह जाद्रानले अन्तिमतिर १५ बलमा २४ रनको योगदान दिए पनि टोलीलाई लक्ष्यमाथि पुर्याउन सकेन।
यो जितसँगै पोखराले ५ खेलमा दोस्रो विजय दर्ता गर्यो, जसले प्लेअफमा पुग्ने आशालाई बलियो बनाएको छ। अब बाँकी दुई खेल जित्न सकेमा टोलीको सम्भावना अझ प्रस्ट हुनेछ। विपरीत, कर्णाली भने ६ मध्ये ५ खेलमा पराजय भोग्दै प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ, गत सिजनको तेस्रो स्थान दोहोर्याउने आशा पूर्ण रूपमा समाप्त भएको छ।