लुम्बिनी लायन्स फाइनलमा, विराटनगर ९४ रनमै समेटियो
News Desk
Dec-12 , 2025 तारिख 06:32 बिहान

काठमाडौं | उत्कृष्ट बलिङ प्रदर्शनीका साथ लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान सुनिश्चित गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा आज भएको क्वालिफायर–२ मा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै लगातार पाँचौं जित हात पारेको हो।

१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटिँदा लुम्बिनीको बलिङ आक्रमण हावी रह्यो। खेलको पहिलो ओभरमै रुबेन ट्रम्पलम्यानले मार्टिन गप्टिललाई २ रनमै आउट गरी विराटनगरलाई दबाबमा पारे। सोही ओभरको अन्तिम बलमा उनले लोकेश बमलाई एलबिडब्लु गर्दै दुईवटा महत्वपूर्ण विकेट झारे।

दोस्रो ओभरमा शेर मल्लले फाफ डु प्लेसिसलाई बोल्ड गर्दै विराटनगरलाई झनै संकटमा धकेले। टोलीले ८ बलभित्र तीन विकेट गुमाएको अवस्थाले लक्ष्य पछ्याउने आधार कमजोर बनायो। पावरप्लेमा पनि विराटनगरले ३ विकेटको बदलामा २८ रन मात्र जोड्न सक्यो।

तिलक भण्डारी, अभिषेश गौतम, जेजे स्मिथ र सन्दीप लामिछाने– सबै बलरहरू क्रमशः विकेट लिन सफल भए। साम हेजलेटले ३४ रन जोडेर प्रतिरोध गरे पनि कुनै साझेदारी लामो समय टिक्न सकेन। नरेन भट्टले २१ रन बनाएर केही कोशिश गरे तर ९४ रनमै टोली समेटियो। लुम्बिनीका तिलकले ३ तथा ट्रम्पलम्यान, जेजे र अभिषेशले समान २–२ विकेट लिए।

त्यसअघि टस जितेर फिल्डिङ रोजेको विराटनगरले लुम्बिनीलाई ठूलो स्कोरमा रोक्न सफल भयो। लुम्बिनीले ८ विकेट खोसाउँदै २० ओभरमा १३४ रन मात्र बनाउन सक्यो। पावरप्लेमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूूलो योगफलमा विस्तार गर्न सकेन।

कप्तान रोहित पौडेल (३४) र डार्सी सट (४५) बीचको ६९ रनको साझेदारी लुम्बिनीका लागि महत्त्वपूर्ण रह्यो। तर त्यो बाहेक अन्य ब्याटरबाट सहयोग जुटेन। सन्तोष भण्डारी र प्रतिश जिसीले समान ३–३ विकेट लिए भने सन्दीपले २ विकेट हात पारे।

अब लुम्बिनीले आउने शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त गर्नेछ। सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो भने लुम्बिनी पहिलो पटक फाइनल खेल्न उत्रँदैछ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले हारेर क्वालिफायर–२ मा पुगेको थियो। हिजोको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै फाइनल नजिक पुगे पनि लुम्बिनीले आज गरेको उत्कृष्ट प्रदर्शनले विराटनगरको यात्रामा पूर्णविराम लागेको छ।

 

धेरै पढिएको