पलेशा गोवर्धन ‘ट्रेलब्लेजर अफ दी इयर’ घोषित
News Desk
Jan-08 तारिख 08:30 बिहान

एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ‘ट्रेलब्लेजर अफ दी इयर’ घोषित भएकी छन्।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा पारा खेलमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएको योगदानको कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पलेशालाई यो विशेष सम्मान प्रदान गरेको हो। एनएसजेएफको आयोजनामा हुने पल्स स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान गरिँदै आएको छ।

पलेशा गोवर्धन र पारा तेक्वान्दोको ऐतिहासिक यात्रा

सन् १९६४ मा टोकियो ओलम्पिकबाट सुरु भएको नेपालको ओलम्पिक यात्रामा करिब ६ दशकमा झन्डै एक सय नेपाली खेलाडीले सहभागिता जनाइसकेका छन्। सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दो खेलाडी विधान लामाले कास्य पदक जितेर चर्चा कमाए पनि तेक्वान्दो प्रदर्शन खेल भएकाले त्यो पदक आधिकारिक मान्यतामा परेन। त्यस्तै, वैकुण्ठ मानन्धरले चार पटक ओलम्पिक खेल्दै नेपाली खेलकुदमा कीर्तिमान कायम गरे।

सन् २००४ को एथेन्स ओलम्पिकमा संगिना वैध्य छनोट चरण पार गर्ने पहिलो नेपाली खेलाडी बनिन्। त्यसपछि बेइजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट र पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गरेर नयाँ इतिहास थपे। यति धेरै प्रयास र उपलब्धिका बाबजुद पनि ओलम्पिक पदक जित्ने नेपालको सपना लामो समयसम्म अपूरो नै रह्यो।

पारा ओलम्पिकको इतिहास भने सन् २००४ बाट मात्र सुरु भएको भए पनि नेपालका लागि ऐतिहासिक सफलता भने यही खेलमार्फत आयो। पारा ओलम्पिकबाट नेपाललाई पहिलोपटक पदक दिलाउने गौरव पलेशा गोवर्धनको नाममा लेखिएको छ।

गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत ५७ केजी मुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचिन्। ग्रीष्मकालीन, शीतकालीन वा पारा—कुनै पनि ओलम्पिक प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडीको रूपमा उनको नाम नेपाली खेलकुद इतिहासमा सदाका लागि अंकित भएको छ।

यसअघि पारा एसियन गेम्समा पनि ऐतिहासिक प्रदर्शन गरेकी पलेशाले एकपछि अर्को उपलब्धि हासिल गर्दै नेपाली खेलकुद क्षेत्रमा सुपरस्टारको पहिचान बनाएकी छन्। उनको अबको लक्ष्य पारा ओलम्पिकमा स्वर्ण पदक जित्नु रहेको छ।

नेपाली खेलकुदमा नयाँ सम्भावना र प्रेरणाको बाटो खोल्दै अघि बढेकी पलेशा गोवर्धनलाई यही योगदानको कदरस्वरूप नेपाल खेलकुद पत्रकार मञ्चले उच्च सम्मानका साथ ‘ट्रेलब्लेजर एथलेट’ अवार्ड प्रदान गरेको हो।