नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित 
News Desk
Feb-08 तारिख 07:11 बेलुका

कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जिततर्फ नजिक पुर्‍याए। लोकेश बमले अन्त्यतिर आक्रामक ब्याटिङ गरे पनि नेपाल टि–२० विश्वकपमा फेरि एकपटक जितको संघारमै पुगेर चुक्यो।

नेपाल मुम्बईको वाङखडे स्टेडियममा इङ्ल्यान्डसँग ४ रनले पराजित भयो। १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। यसअघि पनि अघिल्लो विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।

नेपाललाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो। तर दबाबपूर्ण परिस्थितिमा टोलीले ५ रन मात्रै जोड्न सक्यो र जित हातबाट फुस्कियो।

लक्ष्य पछ्याउने क्रममा दीपेन्द्र र रोहितले सम्हालिएर ब्याटिङ गर्दै नेपाललाई खेलमा टिकाइराखे। दीपेन्द्रले सर्वाधिक ४४ रन बनाए। तर १४.२ ओभरमा उनी श्याम करनको बलमा आउट भएपछि नेपालको ब्याटिङ क्रम डगमगाउन थाल्यो। दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

त्यसको अर्को ओभरमा कप्तान रोहित पनि ३९ रनमा आउट भए। रोहितले २९ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरेका थिए। उनीहरू दुवै आउट भएपछि नेपालले आवश्यक लय कायम राख्न सकेन।

त्यसअघि ओपनर कुशल भुर्तेलले आक्रामक सुरुवात गरेका थिए। उनले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन जोडे। अर्का ओपनर आसिफ शेखले ७ रन बनाए भने आरिफ शेख १० रनमा सीमित भए। अन्त्यतिर लोकेश बमले २० बलमा ४ चौका र २ छक्कासहित नटआउट ३९ रन बनाउँदै जितको आशा जगाए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। चौथो विकेटका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकले ७१ रनको साझेदारी गर्दै इनिङ्सलाई मजबुत बनाए।

नेपालका लागि शेर मल्लले डेब्यु खेलमै उत्कृष्ट सुरुवात गरे। उनले पहिलो बलमै फिल साल्टलाई आउट गर्दै ड्रिम डेब्यु गरेका थिए। जोस बटलर २६ रनमा नन्दन यादवको बलमा आउट भए। उनले १७ बलमा ५ चौका प्रहार गरेका थिए।

पावर प्लेमा इङ्ल्यान्डले २ विकेटको क्षतिमा ५७ रन जोड्यो। बेथेलले अर्धशतक पूरा गर्दै ११.२ ओभरमा टोलीलाई १ सय रन पार गराए। उनले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाए।

टोम बेन्टन २ रनमा सन्दीप लामिछानेको बलमा आउट भए भने साम करन २ रनमै दीपेन्द्रको बलमा बोल्ड भए। कप्तान ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। फिल ज्याक्सले १८ बलमा १ चौका र ६ छक्कासहित नटआउट ३९ रन जोडे। अन्तिम ओभरमा इङ्ल्यान्डले २२ रन जोड्न सफल भयो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे। नेपाल र इङ्ल्यान्डबीचको रोमाञ्चक खेल हेर्न वाङखडे स्टेडियममा १६ हजार ३ सय ७६ दर्शकको उपस्थिति थियो।