News Desk
काठमाडौं | Rising Star U-12 ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आइतवार सम्पन्न दोस्रो खेलमा आशिक बगालेको प्रभावशाली अलराउण्ड प्रदर्शनको मद्दतमा सीईसी फ्लेम्सले वन डे क्रिकेट एकेडेमी ‘ए’ लाई २४ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
सिफल ग्राउन्डमा सम्पन्न खेलमा आशिक बगालेले ब्याट र बल दुवैमा उत्कृष्ट योगदान दिए। उनले २२ रन बनाउनुका साथै २ विकेट लिँदै कम स्कोरको प्रतिस्पर्धात्मक खेलमा टिमलाई निर्णायक जित दिलाए। दबाबपूर्ण परिस्थितिमा संयमित खेल देखाएका आशिकलाई सोही प्रदर्शनका आधारमा प्लेयर अफ द म्याच घोषित गरिएको हो।
सीईसी फ्लेम्सका लागि जोईल ओलीले २४ रन जोड्दै ब्याटिङमा साथ दिएका थिए। बलिङतर्फ अनुपम कठायत र हेप्पी श्रेष्ठले समान ३–३ विकेट लिँदै विपक्षी ब्याटिङलाई धरासायी बनाएका थिए भने ईशान जैशवालले २ विकेट लिए।
यसअघि आइतवारकै पहिलो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी हात्तीवनले सीईसी भक्तपुरलाई १८४ रनले पराजित गरेको थियो। उक्त खेलमा दिक्षान्त मिश्रले ४४ बलमा विस्फोटक १३५ रनको इनिङ्स खेल्दै प्लेयर अफ द म्याच बनेका थिए।
प्रतियोगिताको सेमिफाइनलमा सीईसी फ्लेम्स र ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रवेश गरेका छन्। आयोजक सुनिल अमात्यले Rising Star U-12 ट्वान्टी–ट्वान्टी प्रतियोगिता अत्यन्तै व्यवस्थित र उत्साहजनक रूपमा सञ्चालन भइरहेको बताउँदै, “यी बाल खेलाडीहरू नै भविष्यका कर्णधार हुन्। उनीहरूको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,” भने। उनले खेलाडीहरूको खेलस्तर देखेर आफू र आफ्नो टिम निकै उत्साहित भएको पनि बताए।
देशभरबाट दर्जनौं टिमहरूको सहभागिता रहेको यस प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य उज्यालो रहेको संकेत दिएको आयोजकको भनाइ छ।

