News Desk
काठमाडौं,राईजिङ स्टार U-12 ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सिईसी फ्लेम्स र वन डे क्रिकेट एकेडेमी ‘बी’ उपाधि नजिक पुगेका छन । मङ्गलवार सिफल ग्राउन्डमा सम्पन्न सेमिफाइनल खेलहरूबाट दुवै टोली फाइनलमा प्रवेश गरेका हुन ।
सेमिफाइनल–२ मा सिईसी फ्लेम्सले सिईसी रोरलाई ६४ रनले पराजित गर्दै शानदार जित निकालेको हो। खेलमा सिईसी फ्लेम्सका आशिक बगालेले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले । बगालेले १८ बलमा २९ रन बनाउनुका साथै बलिङतर्फ ३ ओभरमा ३ विकेट लिएर विपक्षी ब्याटिङ लाइनअपलाई धरासायी बनाए।
सिईसी फ्लेम्सका लागि सुप्रीम शाहीले आक्रामक ब्याटिङ गर्दै ३७ बलमा ५० रन जोडे। बलिङमा आशिक बगालेसँगै अनुपम कठायतले पनि ३–३ विकेट लिँदै खेल सिईसी फ्लेम्सको पक्षमा मोडे । उत्कृष्ट प्रदर्शनका आधारमा सुप्रीम शाही प्लेयर अफ द म्याच घोषित भए।
यसअघि सेमिफाइनल–१ मा ग्रेट हिमालय क्रिकेट एकेडेमी–हात्तीवन र वन डे क्रिकेट एकेडेमी ‘बी’ बीचको खेल निर्धारित ओभरमा बराबरीमा टुंगिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा वन डे क्रिकेट एकेडेमी ‘बी’ ले रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गर्यो। उक्त खेलमा स्वीकार खड्काले ५६ बलमा ६१ रनको प्रभावशाली इनिङ खेल्दै प्लेयर अफ द म्याच बने।
प्रतियोगिताबारे आयोजक सुनिल अमात्यले राईजिङ स्टार U-12 ट्वान्टी–ट्वान्टी प्रतियोगिता अत्यन्तै व्यवस्थित र उत्साहजनक रूपमा सञ्चालन भइरहेको बताए। यि बाल खेलाडीहरू नै भोलिका राष्ट्रिय कर्णधार हुन्। उनीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो,” उनले भने। खेलाडीहरूको स्तर देखेर आफू र आफ्नो टिम निकै उत्साहित भएको उनले बताए।
देशभरबाट जम्मा २७ टिमको सहभागिता रहेको यस प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य उज्यालो रहेको स्पष्ट संकेत दिएको आयोजकको दावी छ ।
अब उपाधिका लागि सिईसी फ्लेम्स र वन डे क्रिकेट एकेडेमी ‘बी’ बीचको फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।