News Desk
आईसीसी टी–२० विश्वकपमा वेस्ट इन्डिजले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार दोस्रो विजय हात पारेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ३० रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको बलियो योगफल तयार गर्यो। टोलीका लागि शेरफन रदरफर्डले सर्वाधिक ७६ रनको आक्रामक पारी खेले। लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड १९ ओभरमै १ सय ६६ रनमा अलआउट भयो। इङ्ल्यान्डका स्याम करण ४३ रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन सकेनन्।
यस जितसँगै वेस्ट इन्डिजले दुई खेलबाट ४ अंक जोड्दै समूह सीको शीर्ष स्थान मजबुत बनाएको छ। यसअघि इङ्ल्यान्डले पहिलो खेलमा नेपाललाई ४ रनले हराएको थियो।
अब समूह चरणअन्तर्गत नेपाल र वेस्ट इन्डिज फेब्रुअरी १५ मा आमनेसामने हुनेछन्। त्यसअघि नेपालले आज इटलीसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।