विश्वकपमा आज नेपाल–वेस्ट इण्डिज भिडन्त, जित्नै पर्ने दबाबमा नेपाली टोली
News Desk
Feb-15 तारिख 07:19 बिहान

काठमाडौं । विश्वकपमा समूह ‘सी’ को तेस्रो खेलमा नेपालले आज वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको Wankhede Stadium मा नेपाली समयअनुसार आइतबार बिहान ११:१५ बजे सुरु हुनेछ।

लगातार दुई हार व्यहोरेपछि नेपालका लागि यो खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ। इटालीसँगको अप्रत्याशित पराजयपछि सुपर एटमा पुग्ने सम्भावना कमजोर बनेको छ। झिनो आशा जीवित राख्न पनि आजको खेल जित्नै पर्ने दबाब नेपाली टोलीमाथि छ। यदि पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिने निश्चितजस्तै हुनेछ।

पहिलो खेलमा England cricket team विरुद्ध ४ रनको सम्मानजनक हार बेहोरेको नेपालले दोस्रो खेलमा भने इटालीसँग १० विकेटको निराशाजनक हार भोग्यो। इटालीविरुद्ध कुनै विकेट लिन नसक्नु र ब्याटिङतर्फ १२३ रनमै समेटिनुले टोलीको प्रदर्शनमाथि प्रश्न उठेको छ। यसैबीच कप्तान Rohit Paudel ज्वरो र पेटसम्बन्धी समस्याका कारण अस्वस्थ रहेका छन् र उनको खेल्ने–नखेल्ने विषयमा अन्योल छ।

दोस्रोतर्फ, दुई पटकको विश्व विजेता वेस्ट इण्डिज उत्कृष्ट लयमा देखिएको छ। उसले Scotland national cricket team लाई ३५ रन र इङ्ल्याण्डलाई ३० रनले हराउँदै सुपर एटतर्फ मजबुत कदम चालेको छ। निकोलस पुरन र आन्द्रे रसेलजस्ता आक्रामक ब्याट्सम्यान उत्कृष्ट फर्ममा छन्।

नेपाल र वेस्ट इण्डिजबीच सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा भेट कमै भएको छ। गत वर्ष युएईमा भएको तीन खेलको सिरिजमा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो। यद्यपि हालको वेस्ट इण्डिज टोलीमा त्यतिबेलाका जेसन होल्डर र अकिल होसेन मात्र समावेश छन्। सन् २०२३ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा भने नेपाल वेस्ट इण्डिजसँग पराजित भएको थियो।

समूह ‘सी’ मा दुई खेल जितेर वेस्ट इण्डिज शीर्ष स्थानमा छ भने इङ्ल्याण्डको तीन खेलबाट चार अंक रहेको छ। स्कटल्याण्ड र इटालीको समान २–२ अंक छ। नेपाल भने हालसम्म अंकविहीन अवस्थामा छ। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।