११ वर्षीया बालिकाको हत्या प्रकरणमा दाइ पक्राउ
News Desk
Apr-16 तारिख 06:21 बिहान

ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले उनकै दाइलाई पक्राउ गरेको छ। 

सामान्य विवादमा ११ वर्षीया बहिनी दुर्गा बोहराको हत्या गरी पानी ट्याङ्कीमा फालेर भाग्ने उनकै कान्छो दाजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मंगलबजार बस्ने भगवती बोहराले आफ्नी छोरी दुर्गा बोहरा चैत ४ गते रातिदेखि हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी र खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो। 

अनुसन्धान गर्दा दाइकै संलग्नता खुलेको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए। उनको परिचय  खुलाइएको छैन।

अनुसन्धानबाट खुल्न आएका तथ्यहरुः

१,  मिति २०८१/१२/०६ गते जिल्ला बझाङ सुर्मा गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं. १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी वर्ष ११ की दुर्गा बोहरा चैत ४ गतेदेखि हराएको।

२, आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको। 

३, मिति २०८१/१२/२९ गते बिहान अ.१०:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ०९ खपिन्छे स्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुईँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको लास फेला परेको। 

४, बाबुराजा अवालेको उक्त घरमा मृतकहरू भाडामा बसेको र मिति २०८१।११।२५ गते अन्यत्र डेरा सरेको।

५, उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि मिति २०८१।१२।०२ गते अन्यत्र डेरा सरे पश्चात् सो घरमा कोही नबसी घर खाली रहेको।

६, मिति २०८१।१२।०४ गते मृतक र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको CCTV फुटेजमा देखिएको।

७, दाजु बहिनीसँगै गएको फुटेज भेटिएपश्चात् दाजुमाथि शंका लागी सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडाहरू लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटी उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुईँमा लडाइ छोडी भागेको बताएको।

८, दाजु बहिनीले नै लागुऔषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफू भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको।

९, मिति २०८१/१२/०५ गते बिहान नशाले छोडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लास भुईँ तल्लाको भर्‍याङको छेउमा देखेपश्चात् सो लास ट्याङ्कीमा हाली सिमेन्टले बनाएको ढक्कन लगाइ छोपेर छोडी गएको बताएको।