भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्म तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागारमा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे।
उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन्। कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी भइरहेको उल्लेख गरे।
कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षानिकायमा जानकारी दिन पनि उनले सबैमा अनुरोध गरे। १३९ थुनुवा फर्किए, दुई हजार १०० फरार सोही प्रदर्शनका कारण देशभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।
उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन्। फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दी भदौ २४ गते भागेका थिए।