अभियन्ता दुर्गा प्रसाई पक्राउ
News Desk
Nov-18 , 2025 तारिख 06:24 बिहान

अभियन्ता दुर्गा प्रसाई पक्राउ परेका छन्। घरमै रहेका बेला मध्यरातको करिब १२ बजे दुई दर्जनभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी उनीलाई पक्राउ गरिएको उनका सचिवालयले जनाएको छ। पक्राउपछि उनलाई काठमाडौंको भद्रकालीस्थित प्रहरी कार्यालयमा लगिएको छ।

प्रसाईले पछिल्ला दिनमा सरकारविरुद्ध कडा आक्रमक शैलीमा आन्दोलन घोषणा गरेका थिए। उनले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध जनआन्दोलनको तयारी गरिएको बताइरहेका थिए, जसलाई राज्य शक्तिले सुरक्षा चुनौतीका रूपमा लिएको थियो।

आज बिहानदेखि नै भद्रकाली परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अतिरिक्त प्रहरी मात्रै होइन, सादा पोसाकका सुरक्षाकर्मी समेत तोकिएका छन। प्रसाईका समर्थकहरू काठमाडौं र पूर्वका विभिन्न जिल्लाहरूमा जम्मा हुन थालेको सूचना पाइएपछि प्रहरीले सम्भावित भिडन्त रोक्न निगरानी थप कडा बनाएको छ।

सरकार स्रोतका अनुसार प्रसाईविरुद्ध सामाजिक सद्भाव विथोल्ने, हिंसा भड्काउने उक्साहट तथा राज्यविरुद्ध षड्यन्त्र जस्ता आरोपहरूमा प्रारम्भिक अनुसन्धान भइरहेको छ। आवश्यक कागजात संकलनपछि उनलाई आजै अदालतमा पेश गर्ने तयारी गरिएको बताइएको छ।

यसबीच, प्रसाईको गिरफ्तारीलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। समर्थकहरूले यसलाई “राजनीतिक प्रतिशोध” भनेका छन् भने सरकार पक्षले “कानूनविपरीत गतिविधि रोक्न आवश्यक कदम” को रूपमा प्रस्तुत गरेको छ।

आज दिनभर प्रसाईको गिरफ्तारी देशको प्रमुख राजनीतिक बहसको केन्द्रमा रहने देखिन्छ।

धेरै पढिएको