काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ
News Desk
Jan-06 तारिख 07:00 बिहान

काठमाडौँ महानगरपालिका १४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारीलाई लागुऔषध सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट प्राविधिक ल्याब टेक्निसियन, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर तथा प्रहरीवृत्त कालीमाटीबाट खटिएको संयुक्त टोलीले परीक्षण गर्दा उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुर सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन्।

त्यसैगरी झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी तथा धादिङको गल्छी घर भई काठमाडौँ चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछाने पनि पक्राउ परेका छन्।

लागुपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख र हैरानी दिने गरेको सूचनाका आधारमा उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा सोमबार अदालतले लागुऔषध सेवन कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो।

धेरै पढिएको