निर्वाचन सुरक्षाका लागि काठमाडौँमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह
News Desk
Jan-22 तारिख 07:03 बिहान • आज

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउन व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सार्वजनिक आग्रह गरेको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार माघ २० गतेभित्र नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा लगत कायम हुने गरी हातहतियार बुझाउनुपर्नेछ। यससम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरिसकेको उहाँले जानकारी दिनुभयो।

प्रशासनले निर्वाचन प्रक्रिया सम्पन्न भएको एक महिनापछि सम्बन्धित हातहतियार लगत कट्टा गरी धनीलाई फिर्ता गरिने जनाएको छ। सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

यसै क्रममा गृह मन्त्रालयले पनि देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई इजाजतपत्र प्राप्त हातहतियार सङ्कलन गर्न निर्देशन दिइसकेको छ। मन्त्रालयले निर्वाचन अवधिमा शान्ति–सुरक्षा चुनौतीप्रति गम्भीर रहँदै आवश्यक एकीकृत सुरक्षा रणनीतिसहित काम गर्न प्रशासनिक निकायलाई निर्देशन दिएको छ। सोही निर्देशनअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरिरहेका छन्।