News Desk
काठमाडौं । सांसद भरत गिरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाको विषयलाई संसदमा सशक्त रूपमा उठाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले जेठ ३० गते पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, थारु टोल क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा बिना अनुमति प्रवेश गरेको आरोप लगाएका हुन्। उनले उक्त घटनालाई नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अस्मितामाथिको चुनौतीका रूपमा व्याख्या गरे।
सांसद गिरीले घटनास्थलमा नेपाली सुरक्षाकर्मी वा राज्यको प्रत्यक्ष उपस्थिति नरहेको अवस्थामा स्थानीय किसानहरू आफैं अग्रसर भएर आफ्नो भूमि र स्वाभिमानको रक्षा गर्न उभिएको उल्लेख गरे। उनका अनुसार सुस्तावासीहरूले अदम्य साहस प्रदर्शन गर्दै हतियारधारी सुरक्षाकर्मीलाई फर्काउन सफल भएका थिए।
संसदमा भावुक मन्तव्य व्यक्त गर्दै उनले भने, "देशको भूगोल र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार प्रहार हुँदा भित्रभित्रै जलिरहेको नेपाली मुटुको आवाज लिएर उभिएको छु। सुस्ताका किसानहरूले प्रमाणित गरिदिएका छन् कि माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम र राष्ट्रप्रतिको समर्पण चाहिन्छ।"
उनले सुस्तावासी नागरिकहरूलाई राष्ट्रको सीमामा ढाल बनेर उभिएका सच्चा देशभक्तको संज्ञा दिँदै उनीहरूको साहस, एकता र राष्ट्रप्रेमप्रति उच्च सम्मान व्यक्त गरे।