News Desk
गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वकै चर्चित गन्तव्य मानिने अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षको अवधिमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले संकलन गरेको तथ्याङ्कअनुसार सन् २००१ देखि सन् २०२५ सम्म विदेशी पर्यटक आगमनमा उल्लेखनीय उतारचढाव देखिएको छ।
एक्यापका अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र भित्रिएका थिए भने सन् २०२५ मा हालसम्मकै सबैभन्दा धेरै दुई लाख ९९ हजार ८३१ पर्यटकले भ्रमण गरेका छन्। यस अवधिमा सन् २०२१ मा सबैभन्दा कम १६ हजार १०५ पर्यटक मात्रै आएको तथ्याङ्कले देखाउँछ, जसको मुख्य कारण कोभिड–१९ महामारी रहेको छ।
सन् २००१ देखि २०१० सम्म वार्षिक रूपमा एक लाखभन्दा कम विदेशी पर्यटक आएका थिए। तर सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक आगमन एक लाख नाघ्दै एक लाख एक हजार ९०८ पुगेको थियो। त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पर्यटक सङ्ख्या घटेर ७८ हजार ९३० मा सीमित भएको थियो।
भूकम्पपछिका वर्षहरूमा क्रमशः सुधार हुँदै गएको पर्यटक आगमन सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण पुनः घटेको थियो। तर सन् २०२२ यता भने पर्यटक सङ्ख्या तीव्र रूपमा बढेको देखिन्छ। सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।
गत वर्ष अन्नपूर्ण क्षेत्र आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ रहेको एक्यापका प्रमुख डा रबिन कडरियाले जानकारी दिनुभयो। सन् २०२५ मा विदेशी पर्यटक आगमनले नयाँ रेकर्ड कायम गरेको उहाँको भनाइ छ।
पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनका लागि अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको डा कडरियाले बताउनुभयो। अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ र म्याग्दीको घोडेपानीजस्ता गन्तव्यहरूमा वर्षेनि लाखौँ आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्दै आएको छ। करिब सात हजार ६ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन र समृद्ध संस्कृति कारण पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा चिनिन्छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी तथा मुस्ताङका विभिन्न मार्गबाट छोटो, मध्यम र लामो दूरीका पदयात्रा सम्भव रहेको अन्नपूर्ण क्षेत्र पर्यटनमैत्री पूर्वाधार, स्थानीय समुदायको आतिथ्यता र सेवासुविधाका कारण पनि पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा यी पाँच जिल्लाका १५ स्थानीय तहअन्तर्गत ८७ वडा समेटिएका छन्।