समाचार

थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि, कुल मृतक संख्या ४ सय ५९ पुग्यो


काठमाडौं, ९ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टाभित्र ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ३ महिला र ३ पुरुष छन् ।

आज थपिएकासँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो ।
आज मृत्यु हुनेहरुमा ४ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रक्रियागत अल्झनले नै ढिलाइ हुन्छन् विकासे काम


महेन्द्रनगर, ९ असोज: एक दशकअघि निर्माण थालिएको सुदूरपश्चिम प्रदेशको महाकाली करिडोरको निर्माण चलिरहेको भए पनि त्यसको शुरुआती खण्डमा पर्ने ११ किलोमिटर सडकको ठेक्कासमेत भएको छैन ।

कञ्चनपुरको ब्रह्मदेवबाट शुरु हुने भनिएको करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलामा काम चलिरहेको छ तर ब्रह्मदेव क्षेत्रमा सडक निर्माणस्थलमा पर्ने रुख कटानीको आदेश प्रक्रियागत रूपले लम्बिँदा काम शुरुसमेत हुन नसेकेको हो । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाले ब्रह्मदेव क्षेत्रमा चुरेका रुख कटान गर्नुपर्ने बताए । “तीन वर्षपछि सो क्षेत्रको वातवरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएर अहिले बोलपत्र प्रक्रियामा गएको छ”, उनले भने, “यस पटक करिडोरका लागि रु ९० करोड बजेट स्वीकृत भएको छ ।”

उनले इआइए रिपोर्ट समयमा नआउँदा करिडोरको शुरुआती क्षेत्रको काम ढिलो गरी शुरु हुने तरखरमा रहेको बताए । “अहिले ब्रह्मदेव क्षेत्रमा पर्ने ११ किलोमिटर सडकमा रुखको लगत सङ्कलन हुँदैछ”, उनले भने, “अब छिट्टै काम शुरु हुन्छ ।” चार सय २५ किलोमिटर लम्बाइको करिडोर निर्माण भए नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।

तीन वर्षअघि महाकाली करिडोरअन्तर्गत चार जिल्लामा ट्र्याक खोल्न रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । विसं २०६५ देखि निर्माण शुरु भएको दार्चुला तिङ्कर सडकलाई विसं ०७२ मा महाकाली करिडोरअन्तर्गत गाभिएको थियो । करिडोरअन्तर्गत डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कूल ६७ किलोमिटर सडकखण्डको साधारण बाटो खुलाइएको छ ।

दार्चुलादेखि चीनसँग जोडिएको तिङ्कर गाउँसम्म ८७ किलोमिटर सडक बनाउने जिम्मा नेपाली सेनालाई दिइएको छ । मन्त्रिपरिषद्ले गत वैशाखमा महाकाली करिडोरको दार्चुला तिङ्कर सडक योजनाअन्तर्गत यो सडक निर्माणको जिम्मा दिएको हो । सेनाले पनि जिम्मा पाएको सडक बनाउने गृहकार्य गरिरहेको छ ।

त्यसैगरी सुदूरपश्चिममै विकास गर्ने भनिएको कञ्चनपुरको वेदकोटस्थित दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको फाइल लामो समय वन मन्त्रालयमा थन्कियो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि उक्त औद्योगिक क्षेत्र स्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाउन पहल र दबाब दिइएपछि वनमा गाँठो फुकेको छ ।

विसं २०५३ मा मनमोहन अधिकारीे नेतृत्वको सरकारले दैजीछेला औद्योगिक क्षेत्र स्थापना गर्न बजेटसमेत विनियोजन गरिसकेको अवस्थामा झण्डै दुई दशकभन्दा बढी समयपछि हाल आएर दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढेको हो ।

वेदकोटका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको वातावरणीय मूल्याङ्कन प्रभाव स्वीकृत भएको बताए । “लामो समयदेखिसम्म प्रक्रियामै अल्झिएको औद्योगिक क्षेत्रको इआइए स्वीकृत भएको छ”, नगरप्रमुख चन्दले भने, “अब औद्योगिक क्षेत्र निमार्णको बाँकी काम सम्पन्न गर्न धेरै समय लाग्दैन ।” उनले यहाँको वन कार्यालयको गलत रिपोर्टिङका कारण इआइए स्वीकृत गर्न धेरै समय लागेको बताए ।

विसं २०६६ मा जिल्ला वन समन्वय समितिले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन तथा वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका छन् । मन्त्रिपरिषद्को निणर्यले पनि दैजीछेलाको चार किल्लाभित्र बनाउने निर्णय गरिसकेको नगरपालिकाले जनाएको छ ।

विसं २०७५ असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजीछेला क्षेत्रमा उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि सो काम रोकिएको थियो । त्यसैगरी कञ्चनपुरको अर्को ठूलो आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणको काम पनि ऐलानी जग्गा मुआब्जा र रुख कटानको समस्याबाट मुक्त हुन सकेको छैन ।

छत्तीस महिनामा १५ किलोमिटर मूल नहर निर्माण गर्ने लक्ष्यसहित ठेक्का गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको नहर निर्माण समय आगामी माघमा सकिँदैछ तर भौतिक प्रगति भने ४० प्रतिशतको हाराहारीमा छ । तीन वटा प्याकेजमा रु दुई अर्ब ७० करोडमा ठेक्का भएको कामले गति नपाउनुको पछाडि सरकारी प्रक्रियागत अल्झन नै रहेको निर्माण व्यवसायीको दुखेसो छ ।

मूल नहर निर्माणस्थलमा यहाँको वेदकोट नगरपालिकामा चार वटा सामुदायिक वनका रुख कटान गर्नुपर्ने छ । सिँचाइले रुख कटानका लागि केन्द्रमा पहल गरिरहेको भए पनि अझै त्यसको स्वीकृति पाइसकेको छैन ।

सिँचाइ आयोजना कार्यालयले पनि रुख कटान र ऐलानी जग्गाको फाइल रोकिँदा काम अगाडि बढ्न नसकेको जनाएको छ । नहर निर्माण क्षेत्रमा यहाँका चार वटा सामुदायिक वनमा करिब २९.३ हेक्टरमा रहेका रुख कटान र १९.४३ हेक्टर ऐलानी जग्गाको मुआब्जा विवाद सुल्झाउन बाँकी छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा हुने मुआब्जा निर्धारण समितिको सिफारिसमा ऐलानी जग्गालाई मुआब्जा दिने विषय मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने प्रावधान छ ।

कैलालीको मालाखेतीसम्म ५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको भए पनि आयोजना समयमा पूरा हुने सम्भावना टर्दै गएको छ ।-रासस/File Photo

आर्थिक

किसानको मिहिनेतमा बिचौलियाको रजाइँ


बारीबाट तरकारी बजारसम्म पु‍र्‍याउन प्रतिकिलो ३ रुपैयाँ मात्रै लागत भए पुग्छ तर बिचौलियाका कारण उपभोक्ताको भान्सासम्म पुग्दा मूल्य ३ सय प्रतिशतसम्म अकासिन्छ

काठमाडौँ — २० भाद्र । 

ललितपुर चापागाउँकी मिश्री बोहराले तरकारी बिक्रीमा बिचौलिया हटाउन सरकारसँग माग गर्दै आएको ५ वर्षभन्दा बढी भयो । उनले साविक जिल्ला कृषि विकास कार्यालयको बैठकमा राज्य आफैंले वा उपभोक्तालाई बजार व्यवस्थापन गर्न दिनू भनी पटकपटक प्रस्ताव राखिन् । मूल्य निर्धारणसमेत सरकारलाई गर्न आग्रह गरिन् ।

बोहराको प्रस्तावप्रति कृषि कार्यालय गम्भीर देखिएन । यसैबीचमा स्थानीय तहको चुनाव भयो । जनप्रतिनिधि आएपछि समस्या समाधान हुने अपेक्षा राखिन् । तर समस्या ज्युँकात्युँ हुँदा उनको आशा निराशामा परिणत भएको छ ।

बोहरा गोदावरी नगरपालिका–१० चापागाउँस्थित ताजा तरकारी सेवा सहकारी संस्थाकी अध्यक्षसमेत हुन् । बिचौलियाका कारण तरकारी बजारसम्म पुग्दा भाउ ३ सय प्रतिशतसम्म महँगो हुने गरेको उनी बताउँछिन् । ‘तरकारी बारीबाट बजारसम्म पु‍र्‍याउन प्रतिकिलो ३ रुपैयाँ लागत भए पुग्छ,’ उनले भनिन्, ‘किसान आफैंले उपभोक्तासम्म पु‍र्‍याउने हो भने प्रतिकिलो २५ रुपैयाँ पर्ने गोलभेंडाको बजार मूल्य ३० रुपैयाँ पनि पर्दैन ।’ सरकारले राम्रो बीउ दिए बारीमा पर्ने मूल्यमै बिक्री गर्न सकिनेसमेत उनले बताइन् ।

महालक्ष्मी नगरपालिका–९ लामाटारमा व्यावसायिक तरकारी खेती गर्ने दाङ तुलसीपुरकी ४२ वर्षीय रीता सुनार आफ्नो फार्मबाट काउली प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्छिन् । त्यही काउलीलाई लगनखेलस्थित तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो ८० देखि एक सय रुपैयाँसम्म तिर्नुपर्छ । उनले धनियाँ प्रतिकिलो ५० रुपैयाँमा बेच्छिन् । उपभोक्ताको भान्सासम्म पुग्दा मुठाको १५ रुपैयाँ पर्छ । उनको सुझाव छ, ‘स्थानीय सरकारले आफ्नो लगानीमा ठाउँठाउँमा स्थानीय उत्पादन संकलन तथा बिक्री केन्द्र खोलेमा बिचौलियाको समस्या आफैं हट्छ ।’

बिचौलिया हटाउन तयारी भइरहेको महालक्ष्मी नगर उपप्रमुख निर्मला थापाले बताइन् । ‘वडा–२ मा तरकारी संकलन केन्द्र राख्ने गरी योजना अघि बढेको छ,’ उनले भनिन्, ‘किसान समूहलाई तीनतीन लाख रुपैयाँका दरले रकम वितरण गरेका छौं ।’ महालक्ष्मीमा व्यावसायिक पशुपालन तथा तरकारी खेती गर्ने ४ सय जना किसान छन् ।

यसरी सस्तिन्छ तरकारी

अहिले किसानले उत्पादन गरेको तरकारीको मूल्य बिचौलियाले तोक्ने गरेका छन् । तरकारी संकलन केन्द्र स्थापना भएमा तरकारीको मूल्य किसानले तोक्ने र उपभोक्ताले सहुलियत दरमा किन्न पाउने किसानहरू बताउँछन् । लुभुमा व्यावसायिक तरकारी तथा फलफूल खेती गर्ने दाङका अमृत विक भन्छन्, ‘स्ट्रबेरी बजारमा प्रतिकिलो ८ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ । तर किसानले बिक्री गर्न पाएमा प्रतिकेजी साढे ५ सय रुपैयाँमै बिक्री गर्न सकिन्छ ।’

दक्षिण ललितपुरका किसान चापागाउँस्थित तरकारी संकलन केन्द्रमार्फत आफ्नो उत्पादन बिक्री गर्न बाध्य छन् । संकलन केन्द्रबाट राजधानी तरकारी पठाउने व्यापारीले प्रतिकिलोमा कम्तीमा १० रुपैयाँ नाफा लिने गरेका किसानहरू बताउँछन् । उनीहरूका अनुसार तरकारीमा सबैभन्दा बढी नाफा थोक बिक्रेतालाई हुन्छ । बिचौलियाको प्रभाव रोक्न हाटबजार खोल्ने तयारी भइरहेको गोदावरी नगरपालिकाका कृषि शाखा प्रमुख वेदनाथ पन्थीले बताए । ‘उत्पादकले उपभोक्तालाई सिधा बिक्री गर्न सकिने गरी ठेचो र गोदावरीमा संकलन तथा बिक्री केन्द्र खोल्न फिल्ड निरीक्षण भइसकेको छ,’ उनले भने, ‘बिचौलिया हटाउन ६ लाख बजेट छुट्याएका छौं ।’ यसकै लागि किसानलाई ठेलागाडा वितरण गर्ने कार्यक्रमसमेत बनाइएको उनको भनाइ छ । ‘किसानलाई सहुलियत दरमा बिजुलीको मिटर जडान गर्न दिनेबारे पनि छलफल भइरहेको छ,’ उनले भने ।

ललितपुरको लेले–चन्दनपुर सडक भएर गोटीखेल, शंखु, बुखेल, नल्लु, भारदेउ, चौघर, ठूर्लादुर्लङ, कालेश्वरीबाट सिजनमा दैनिक ३० हजार किलोको हाराहारीमा तरकारी बजार आउँछ भने अफसिजनमा ९ हजार किलो । भट्टेडाँडा, गिम्दी, आश्राङ, प्युटार, माल्टा, घुसेलबाट सिजनमा दैनिक १० देखि १५ हजार किलो र अफसिजनमा ९ हजार किलोसम्म तरकारी भित्रिन्छ । दक्षिण ललितपुरमा करिब ६० प्रतिशत किसान दुग्ध र तरकारी व्यवसायमा आवद्ध छन् । यहाँ काउली, बन्दा, रायो, सिमी, बोडी, काँक्रो, फर्सी, घिरौंला, तितेकरेला, मटरकोसा, गोलभेंडा उत्पादन हुन्छन् ।

राहत वितरण नै अवैज्ञानिक
महालक्ष्मी नगरपालिकामा व्यावसायिक र गुजारामुखी (घरमा मात्रै खानका लागि उत्पादन) गरी दुईथरीका किसान छन् । तर उनीहरूको वर्गीकरण गरिएको छैन । यसले राहत वितरण गर्दा व्यावसायिक किसान मर्कामा पर्ने गरेको महालक्ष्मी नगरपालिका किसान मूल समितिकी अध्यक्ष रीता सुनारले बताइन् । ‘किसानलाई आत्मनिर्भर बनाउन वर्गीकरण गरेर वस्तु उत्पादनका आधारमा राहत वितरण गर्ने प्रणालीको विकास गर्नुपर्छ,’ उनले भनिन्, ‘अहिले व्यावसायिक खेती र घरायसी खेती गर्ने किसानले एउटै राहत पाउने गरेका छन् ।’

महालक्ष्मी नगरपालिकाका कृषि शाखा प्रमुख ब्रह्मदेव साहले अर्को आर्थिक वर्षदेखि व्यावसायिक र घरायसी किसान छुट्याएर राहत वितरण गर्ने गरी छलफल भइरहेको बताए । यस नगरमा चालु आवका लागि २७ लाख रुपैयाँ कृषि बजेट छ । गोदावरीमा ७० लाख रुपैयाँ छुट्याइएको छ । यो रकमले किसानलाई राहत वितरण नभई तालिम, सचेतनाजस्ता कार्यक्रम चलाउन पनि नपुग्ने उनी बताउँछन् । कृषिप्रधान देशमा ७५ प्रतिशत जनता किसान रहेको भनिए पनि सदन र सडकमा जस्तो बजेटले कृषि क्षेत्रमा प्राथमिकता नपाएको उनको भनाइ छ । ‘यो बजेटले वार्षिक कार्यक्रम चलाउनसमेत पुग्दैन,’ उनले भने, ‘कृषिमा कम्तीमा डेढ/दुई करोडभन्दा बढी बजेट आवश्यक पर्छ ।’

उनका अनुसार यहाँ १ सय ३१ जना किसानले यस वर्ष जाप्निज हलुवावेत र नासपति, बदाम, आरुबखडा, किबी, ओखर, सुन्तला, कागती, जुनार, मुन्तला, अम्बा, अनारलगायतका ५ हजार ४ सय ५९ वटा बिरुवा मागेका थिए । ‘बजेट अभावका कारणले कृषि ज्ञान केन्द्रमा माग गर्‍यौं,’ उनले भने, ‘त्यहाँबाट ३ हजार ३ सय ६१ वटा मात्र बोट उपलब्ध गराइयो ।’

आत्मनिर्भर हुन कृषि मिटर र सडक
सामान्यतः एउटा व्यावसायिक तरकारी फार्मबाट मासिक १ हजार ५ देखि ३ हजार रुपैयाँसम्म बिजुलीको बिल उठ्छ । महालक्ष्मी नगरपालिका किसान मूल समितिका अनुसार यहाँका ४ सय किसानको फार्मबाट कम्तीमा मासिक ६ लाख रुपैयाँ बिल उठ्छ । किसानको संख्या वृद्धि गर्न र पशुपालन, तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन बिजुलीमा सहुलियत दिन कृषि मिटरको अवधारणा ल्याउनुपर्ने बताउँछिन् समितिकी अध्यक्ष सुनार ।

‘कृषिबिना हामी बाँच्न सकिँदैन । यसकारण पनि कृषि क्षेत्रलाई बलियो बनाउन कृषि सडक र मिटरको अवधारणा ल्याउन पहल गर्नुपर्छ,’ उनले भनिन् । कृषि क्षेत्रको विकास गर्न यसलाई विद्यालय र कलेजका पाठ्यक्रममा पनि समावेश गराउनुपर्ने उनको सुझाव छ ।

महालक्ष्मीकी नगर उपप्रमुख थापा र गोदावरीका कृषि शाखा प्रमुख पन्थीले कृषि सडक खन्ने र सहुलियत दरमा मिटर जडान गर्नेबारेमा पनि छलफल भइरहेको बताए । यसका लागि व्यावसायिक किसानको सूची यार पार्ने काम भइरहेको थापाको भनाइ छ । गत आवसम्म महालक्ष्मीमा ५ सय ९० हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो भने ११ वटा किसान समूह थिए । ललितपुरको लेले र लामाटार, लाकुरी भन्ज्याङ क्षेत्र लप्सीका लागि प्रख्यात मानिन्छ । तर यहाँ लप्सीका रूख धमाधम काटेर प्लटिङ गरिँदै छ । रैथाने बाली संरक्षणमा कसैले चासो नदिएको ताजा तरकारी सेवा सहकारी संस्था चापागाउँकी अध्यक्ष बोहराको गुनासो छ । ‘पकेट क्षेत्र घोषणा गरेर संरक्षण गर्नुपर्‍यो,’ उनले भनिन् । गोदावरी कृषि शाखा प्रमुख पन्थीले लेलेलाई पकेट क्षेत्र घोषणा गरेर रैथाने बाली संरक्षण अभियानमा लागेको दाबी गरे ।

(कान्तिपुर दैनिक)

खेलकुद

मेस्सी क्लबको प्रशिक्षणमा फर्किए (भिडिओसहित)


काठमाडौं, २३ भदौ । स्पेनिश जायन्ट बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबको प्रशिक्षणमा सहभागी भएका छन् । पछिल्लो समय क्लब छाड्ने मनस्थितिका कारण उनी क्लबको नियमित प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिएनन । तर, क्लब नछाड्ने भएपछि उनी क्लबको प्रशिक्षणमा फर्किएका हुन् ।

https://twitter.com/i/status/1303283529695088641

विश्व

कोरोनाका कारण विश्वभर दुई करोड ७७ लाख सङ्क्रमित


२४ भदौ : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् ।

अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।

कुल सङ्क्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार १९६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

विश्वभरी अहिलेपनि ७० लाख नौ हजार ९३९ जना सङ्क्रमित अवस्थामै रहेका छन । ती मध्ये ६० हजार ३९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ३७६ जना सङ्क्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै सङ्क्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ ।पछिल्लो विवरण अनुसार भारतमा ४३ लाख ७४ हजार ३१४ जना सङ्क्रमित हुँदा ७३ हजार ९५३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै सङ्क्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १२४ जना सङ्क्रमित भएका छन् भने एक लाख २७ हजार ५१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

चौथो धेरै सङ्क्रमित रहेको रुस र पाचौँ धेरै सङ्क्रमित रहेको पेरुमा क्रमशः दश लाख ४१ हजार ७ र छ लाख ९६ हजार १९० जना सङ्क्रमित भएका छन् । ती देशहरुमा मृतकहरुको संख्या पनि क्रमशः १८ हजार १३५ र ३० हजार १२३ रहेको छ । रुसमा सङ्क्रमितको संख्या धेरै रहेपनि मृतककको संख्या भने पेरुमा धेरै रहेका छन् ।

धेरै सङ्क्रमित भएका मुलुकहरुको सूचीमा क्रमशः कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् ।-एएफपी/Photo:Agency

Popular Posts

नेपालका नौ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा ३४ अर्ब ८४ करोड रुपैयाँ शंकास्पद धन ओसारपसार 

समाचार, आर्थिक, अपराध


खाेज पत्रकारिता केन्द्र
काठमाडाैं— ५ असोज

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधिबारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए । ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज’ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको  खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो ।

‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महिनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ ।

शंकास्पद धनको कारोबार र ओसारपसार गरेको भन्ने ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको नाम उल्लेख छ ।


यसैगरी ‘फिनसेन फाइल्स’ अनुसार, यस्तो कारोबार र ओसारपसारमा प्रत्यक्ष संलग्न १० कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेसनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेस्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन् । 

यसमध्ये केही कम्पनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने काम गरेको समेत देखिन्छ । यसबाहेक पनि झन्डै एक दर्जन जति नेपाली कम्पनीहरू अप्रत्यक्ष रूपमा संलग्न छन् । तर, उनीहरूको संलग्नताबारे सोधिएको प्रश्नमा नेपालका बैंक तथा कम्पनीहरूले ‘उल्लिखित काममा आफूहरूको कुनै संलग्नता नरहेको’ भनेर शंकास्पद कारोबारलाई अस्वीकार गरेका छन् ।

खुलासा अनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसारपसार भएको छ । यो रकम आथिर्क वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेट बराबर हो । 

आईसीआईजेबाट खोज पत्रकारिता केन्द्र (खोपके) ले प्राप्त कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ ।

पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ । 

दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ, तर त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन ।

तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ । यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिँदैन ।

पहिलो प्रकृति अनुसार नेपाल भित्रिएको र नेपालबाट बाहिरिएको कुल रकम १७ करोड ७६ लाख ६० हजार ७६५ अमेरिकी डलर (रु.२१ अर्ब १४ करोड १६ लाख ३१ हजार ५८) हुन आउँछ ।

यो रु.२१ अर्बमध्ये १० करोड ३० लाख ३९ हजार ८६७ अमेरिकी डलर (रु.१२ अर्ब २६ करोड १७ लाख २४ हजार २६२) नेपालबाट बाहिरिएको छ । यसैगरी ७ करोड ४६ लाख २० हजार ८९७ अमेरिकी डलर (रु.८ अर्ब ८७ करोड ९८ लाख ८६ हजार ७९६) नेपाल भित्रिएको देखिन्छ ।

त्यसैगरी दोस्रो प्रकृतिको नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको अवैध कारोबार र ओसारपसारको एकमुुष्ट रकम भने ४ करोड ८२ लाख ५४ हजार ५७६ अमेरिकी डलर (रु.५ अर्ब ७४ करोड २२ लाख ९४ हजार ५८६.८४) देखिन्छ ।  ‘फिनसेन फाइल्स’ ले यो रकम नेपालसहित विभिन्न मुलुकमा कारोबार र ओसारपसार भएको उल्लेख गरे पनि नेपालमार्फत ठ्याक्कै कति कारोबार भयो भन्ने खुलाएको छैन ।  

त्यसबाहेक तेस्रो प्रकृतिको कारोबारमा विदेशमा बसेर नेपाली मूलका व्यक्तिहरूले ६ करोड ६८ लाख ८१ हजार ४५.८६ अमेरिकी डलर (रु.७ अर्ब ९५ करोड ८८ लाख ४४ हजार ४७५) कारोबार र ओसारपसार गरेको पनि खुल्न आउँछ ।

‘फिनसेन’ ले यी तीनै थरी कारोबारलाई ‘सस्पिसियस एक्टिभिटिज रिपोर्ट’ शंकास्पद गतिविधि सम्बन्धी प्रतिवेदन (सार) को सूचीमा राखेको छ । ती विवरणहरू केलाउँदा नेपालका बैंकहरू ‘आफ्ना प्रत्येक ग्राहकले गर्ने कारोबारको निगरानी राख्नुपर्ने’ अनिवार्य दायित्वबाट चुकेको देखिन्छ । यसले सम्पत्ति शुद्धीकरणको अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाललाई ‘थप बदनाम’ र ‘उच्च जोखिमयुक्त मुलुकको सूचीमा पार्ने चुनौती’ थपेको छ ।

विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटक–पटक भएको देखिन्छ । यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले ।

‘स्ट्याण्डर्ड चार्टर्ड’ मार्फत अत्यधिक प्रवाह
‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, सबैभन्दा बढी रकम ल्याउने र लैजाने शंकास्पद कारोबार र ओसारपसारमा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । त्यस्तो कारोबार गर्दा नेपालको स्ट्याण्डर्ड चार्टर्ड बैंकले विदेशस्थित स्ट्याण्डर्डकै शाखाहरू प्रयोग गरेको छ । कतिपय कारोबारमा अन्य बैंकहरूमार्फत पनि यस्तो काम भएको देखिन्छ । 

ग्राहक– १, रौनियार

यो बैंकमार्फत सबैभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्ज उपमहानगरपालिका–१२ मिनाबजार पर्सा, मेनरोडका दुई कम्पनीहरू छन् । एक, रौनियार ब्रदर्स एण्ड कम्पनी । दोस्रो, शुभ समृद्धि ट्रेडर्स प्राइभेट लिमिटेड । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर स्रोतले उपलब्ध गराएको विवरण अनुसार, पहिलो कम्पनी वीरगञ्जका नारायण जी रौनियार र उनका चार छोराहरू– श्याम बाबु, ज्योति बाबु, प्रकाशकुमार र दीपकुमार बाबुको नाममा दर्ता छ ।

दोस्रो, कम्पनी भने नारायणजीका छोरा ज्योति बाबुको नाममा मात्रै दर्ता छ । शंकास्पद गतिविधि गर्ने प्रमुख व्यक्ति भने प्रकाशकुमार रौनियार हुन् । जो धेरैजसो दुबईमा बसोबास गर्छन् । उनको प्रमुख योजनामा दुबईकै ‘काइट इन्टरनेसनल’, ‘एफजेई’ र अन्य विभिन्न सिपिङ कम्पनीहरू (जहाजमार्फत सामान ओसारपसार गर्ने कम्पनी) मार्फत शंकास्पद कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ । दुबईको ‘काइट इन्टरनेसनल’ कम्पनीले अलकत्र, सवारी साधनमा प्रयोग हुने मोविल, लुब्रिकेन्ट लगायत तेल, रबर प्रोसेसिङ ओइल जस्ता पेट्रोलियम पदार्थको आयात र निर्यात गर्छ ।

दुबईका यी शंकास्पद कम्पनीहरू मार्फत रौनियार परिवारले नेपालमा अलकत्र र पेट्रोलियम पदार्थको आयात निर्यातका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । 

रौनियारका उल्लिखित दुई कम्पनीहरूले २८ सेप्टेम्बर २०१० देखि ४ सेप्टेम्बर २०१४ भित्र स्ट्यान्डर्ड चार्टर्ड बैंक काठमाडौंबाट पटक–पटक प्रतितपत्र खोलेका छन् । यी दुई कम्पनीले यो अवधिमा ७ करोड १४ लाख ५ हजार ५३३ अमेरिकी डलर (रु.८ अर्ब ४९ करोड ७२ लाख ५८ हजार ४२७) रकम दुबई लगायत विभिन्न देशमा भुक्तानी गरेको देखिन्छ । 

फिनसेनले यी कम्पनीहरूबारे संवेदनशील तथ्यहरू औंल्याएको छ । रौनियारको कम्पनीले अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएका मुलुकबाट सामान ल्याएको तर कागजात भने प्रतिबन्ध नलगाइएकै मुलुकहरूबाट सामान ल्याएको देखिने गरी तयार गरेको छ । ‘फिनसेन’ ले यसलाई शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ । 

त्यसको उदाहरण २८ सेप्टेम्बर २०१० र १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्म भएका कारोबारहरू हुन् । २८ सेप्टेम्बर २०१० मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले दुबईस्थित काइट कम्पनीबाट २ लाख २५ हजार अमेरिकी डलर (रु.२ करोड ६७ लाख ७५ हजार) मूल्य बराबरको अलकत्र खरिद गर्न प्रकाशकुमार रौनियारका नाममा प्रतितपत्र जारी गरेको थियो ।

उक्त ‘अर्डर’ अनुसारका सामानहरू २८ सेप्टेम्बर २०१० मा ‘एमएससी जमाइमा’ र ‘एमएससी पेगी’ पानीजहाज कम्पनीमार्फत जिबुउटी र बहराइन पुर्‍याइएको थियो । जुन सामग्री ‘फर्नेस ओइल’ रहेको विवरणमा उल्लेख छ । त्यहाँबाट कोलकाता हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाह ल्याइएको कागजातहरूले देखाउँछन् ।

ती कागजातका आधारमा १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ लाख ४३ हजार ५५४.६३ अमेरिकी डलर (रु.२ करोड ८९ लाख ८३ हजार) काइटलाई भुक्तानी गरेको थियो । यो कम्पनीहरूका प्रतितपत्रहरूमाथि २०१६ अक्टोबरमा बेलायतको गैरनाफामूलक संस्था इन्टरनेसनल म्यारिटाइम ब्यूरो (आईबीएम) ले अनुसन्धान गरेको थियो ।

उक्त संस्थाले अन्तर्राष्ट्रिय व्यापारका क्रममा हुने सबै प्रकारका सामुद्रिक अपराध, ठगी र गलत अभ्यासबारे खोज्ने काम गर्छ । उसको अनुसन्धानबाट नेपालका कम्पनीहरूले चार पटक ‘इरानको बन्दरगाह बान्डर अब्बासबाट सामान लोड गरिएको’ फेला पार्‍यो । तर, कागजपत्र चाहिं ‘दुबईको जेबिल अली बन्दरगाहमार्फत सामान लोड भएको’ भन्ने बनाइएको थियो । यस आधारमा ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको हो ।

‘काइट’ को वेबसाइटमा उल्लेख भए अनुसार, यो एक कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो, जसको केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र अमेरिकामा उपस्थिति रहेको छ । काइटको वेबसाइटमा भएको विवरण अनुसार, यो कम्पनीले ‘नेपालमा उच्च शिक्षाका लागि नयाँ परियोजना शुरू गरेको’ छ । तर नेपालका सरकारी अधिकारीहरू ‘काइट’ ले शिक्षा क्षेत्रमा कुनै परियोजना सञ्चालन नगरेको बताउँछन् ।

यी काम कारबाहीबारे प्रतिक्रिया लिन हामीले दुबईस्थित काइटको कार्यालयलाई इमेल मार्फत प्रतिक्रिया लिन खोजेका थियौँ । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

उल्लिखित दुई कम्पनीका सञ्चालक मध्येका एक नारायणजी रौनियारले हाल आफ्ना दुवै कम्पनी बन्द भएको बताए । 'अहिले कम्पनी छैन, चार पाँच वर्ष जति भयो होला बन्द भइसक्यो', उनले भने, 'पहिले अलकत्रको काम गथ्र्यौं, अहिले गर्दैनौँ ।' फिनसेनले भनेको कारोबारमा संलग्न मुख्य व्यक्ति उनका छोरा प्रकाशकुमार रौनियार हुन् । उनी युएईमा रहेका कारण उनको फोन नम्बर र इमेल प्राप्त हुन सकेन ।

ग्राहक– २, दाना डेरी ग्रुप लिमिटेड

‘फिनसेन’ का अनुसार, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हुँदै स्वीट्जरल्याण्डमा रकम पठाएर शंकास्पद कारोबार गर्ने अर्को ग्राहक हो– दाना डेरी ग्रुप लिमिटेड । ७ अप्रिल २०१५ मा २७ हजार ६७२ अमेरिकी डलर (रु.३२ लाख ९२ हजार ८६८) स्ट्याण्डर्ड चार्टर्ड बैंक काठमाडौंले दाना डेरी ग्रुप लिमिटेड, स्वीट्जरल्याण्डलाई पठाएको देखिन्छ । उक्त रकममध्ये २७ हजार ११२ अमेरिकी डलर (रु.३२ लाख २६ हजार ३२८) मात्रै २८ जुलाई २०१५ मा दानाले स्वीट्जरल्याण्डमा प्राप्त गर्‍यो । दाना डेरीले दुग्धजन्य पदार्थको उत्पादन, खरिद, बिक्री र वितरण लगायतको काम गर्छ । 

दाना डेरीको वेबसाइटमा उल्लेख भएअनुसार, १६ देशमा यसका उत्पादन कारखाना छन् । यसले नेपालसहित ५६ मुलुकमा आफ्ना उत्पादन निर्यात गर्छ । नेपालबाट कसले र किन यो पैसा स्वीट्जरल्याण्ड पठायो भन्ने विवरण चाहिं खुल्न सकेन ।

बैंकको कारोबार तथा कम्पनीहरूको संलग्नताबारे स्ट्याण्डर्ड चार्टर्ड बैंकका ‘ब्रान्ड एण्ड मार्केटिङ हेड’ (कर्पोरेट अफेयर्स) प्रनु सिंहले आफूहरूले ‘फिनसेन’ को शंकास्पद कारोबार रिपोर्ट (सार) सम्बन्धी गोपनीयताको दायित्वलाई गम्भीर रूपमा लिएको बताइन् । उनले कुनै केस विशेषमा टिप्पणी गर्न नचाहेको पनि बताइन् । 

इमेलमार्फत उनले ‘सार’ प्रतिवेदन आफैंमा ग्राहक, बैंक वा अन्य कुनै संस्थाको गलत कामको प्रमाण नभएको दाबी गरिन् । 'बैंकको जिम्मेवारी भनेको विश्वव्यापी वित्तीय प्रणालीको रक्षा गर्न प्रभावकारी अनुगमनको कार्यक्रम बनाउनु हो', उनले भनेकी छन्, 'वित्तीय अपराध विरुद्ध लड्ने कामलाई हामी हाम्रो जिम्मेवारीका रूपमा लिन्छौं र शंकास्पद धन बारेको रिपोर्टिङ गर्ने कार्यक्रमका लागि पर्याप्त लगानी गर्छौं ।' 

उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकले अनुगमन र अनुसन्धानको काममार्फत अपराधीलाई सजाय दिन योगदान पुर्‍याएको दाबी गरे पनि कम्पनी र कारोबारको विषयमा कुनै कुरा खुलाउन चाहिनन् । उल्लिखित कारोबारको विषयमा हामीले स्वीट्जरल्याण्डको दाना डेरी ग्रुपलाई इमेल मार्फत प्रतिक्रिया मागेका थियौं । उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन । 

तस्करीको सुन बिक्री गर्ने कम्पनीलाई प्राइम र बैंक अफ काठमाण्डूको सहयोग
‘फिनसेन’ का अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८ बालकुमारी ठेगाना उल्लेख गरेको सास्ता ट्रेडिङ कम्पनीले अमेरिकाको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट नेपाल हुँदै शंकास्पद धन दुबई पुर्‍याएको भेटिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक न्यूयोर्क शाखाको समीक्षा भन्दै फिनसेनले उल्लेख गरे अनुसार, १ जनवरी २००८ देखि २९ अगष्ट २०१२ सम्म सास्ता टे«डिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले दुई अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५ अमेरिकी डलर (रु.३ खर्ब ३० अर्ब ६४ करोड २६ लाख २३ हजार ९५५) शंकास्पद कारोबार गरेका हुन् ।

सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ वटा कारोबारमार्फत ३ करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर (रु.३ अर्ब ७५ करोड ७१ लाख ७० हजार ८१६) प्राप्त गरेको देखिन्छ । सो रकम न्यूरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डूको सास्ताको खातामा रकम जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ । तर दुई बैंकमा कति कति रकम जम्मा भएको भन्ने विवरणबाट खुल्दैन ।

सास्ताले कहाँबाट के प्रयोजनका लागि रकम प्राप्त गरेको थियो भन्ने नखुले पनि उक्त रकम दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेसनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ । कालोटी ज्वेलरीबाट बिस्कुट आकारको सुन र चाँदी आयातका लागि २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा कालोटीलाई नै ३ करोड ७ लाख १८४ अमेरिकी डलर (रु.३ अर्ब ६५ करोड ३३ लाख २१ हजार ८९६) पठाएको देखिन्छ । बाँकी ८ लाख ७२ हजार ६८० अमेरिकी डलर (रु.१० करोड ३८ लाख ४८ हजार ९२०) सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगष्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो ।

फिनसेनले राखेको विवरणअनुसार सुनको मात्रै शंकास्पद कारोबार ५ खर्ब १४ अर्ब ९९ करोड ६० लाख ५१ हजार १८८.२० अमेरिकी डलर बराबरको छ । नेपालको सास्ताले सुन कारोबार गरेको कालोटी ग्रुपले मात्रै सन् २००७ देखि २०१५ सम्ममा ४ हजार ५५७ पटक कारोबार हुँदा ९ अर्ब ३२ करोड २२ लाख ८१ हजार ८५३.०७ डलर (रु.११ खर्ब ९ अर्ब ३५ करोड १५ लाख ४० हजार ५१५) शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ । 

सन् २०१४ मा भएको एउटा ‘लिक्स’ अनुसार, कालोटीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वमा प्रयोग भएको सुन खरिद गर्ने काममा संलग्न भएको देखिएको थियो । सन् २०१२ मा कालोटीले सुन खरिद गर्नका लागि ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो । सो ‘लिक्स’ अनुसार, बैंकिङ प्रणालीबाट कारोबार हुँदा शंकास्पद धनको पहिचान हुने संभावना छल्न यसरी नगद कारोबार भएको हो ।

यही कम्पनीसँग नेपालको सास्ता ट्रेडिङले सुनको कारोबार गरेको ‘फिनसेन फाइल्स’ ले खुलासा गरेको हो । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका २७ की शान्तिप्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् ।

उल्लिखित सेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ । तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष हुन् । उनीसँग सम्पर्क गर्दा ‘आफू बैठकमा रहेको र एक घण्टापछि फोन गर्न’ भने । त्यसपछि पटक पटक प्रयास गर्दा उनले टेलिफोन उठाएनन् । 

उल्लिखित कारोबार बारे प्राइम बैंकका सूचना अधिकारी अमृत चरण श्रेष्ठले आफूहरूले राष्ट्र बैंकको नियम अनुसार कारोबार गरेकाले शंकास्पद नभएको बताए । 'सास्ता कम्पनी हाम्रो बैंकको पुरानो ग्राहक हो । कम्पनीले हाम्रो बैंकबाट चाँदी आयातको एलसी प्रतितपत्र मात्रै खोल्छ । उसले अरू धेरै बैंकबाट पनि कारोबार गर्छ । शंकास्पद भए अन्ततिर होला', श्रेष्ठले भने, 'हामीले राष्ट्र बैंकको नियम अनुसार काम गरेका छौं, कुनै कैफियत भएको जानकारी छैन ।' 

सास्ता संलग्न अर्को बैंक– बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले त धेरै कुरै गर्न चाहेनन् । उनले भने, 'यसबारे मलाई केही जानकारी छैन । केही भयो भने म तपाईंलाई पछि कल गर्छु ।' यो कारोबारमा जोडिएको दुबईको कालोटीले आईसीआईजेलाई प्रतिक्रिया दिंदै उल्लिखित आरोपलाई अस्वीकार गरेको छ ।

इन्भेस्टमेन्ट बैंक र जेटीईको साँठगाँठ
‘फिनसेन’का अनुसार, चीनको सबैभन्दा ठूलो दुरसञ्चार सामग्री आपूर्तिकर्ता कम्पनी ‘जिहोङसिङ् टेलिकम्युनिकेसन इक्वीपमेन्ट कर्पोरेशन’ (जेटीई) ले १७ मार्च २०११ देखि १ मार्च २०१७ सम्म २५ अर्ब २१ करोड ३३ लाख ८१ हजार ४६१.२४ अमेरिकी डलर (रु.२५ अर्ब ३९ करोड २३ लाख ९३ हजार ८८७) रकम नेपालसहितका अन्य मुलुकमा पठाएको थियो ।

जेटीईले बेइजिङस्थित चाइना कन्स्ट्रक्सन बैंक मार्फत उक्त कारोबार गरेको थियो । उसले गरेको कारोबार रकम शंकास्पद भएको चाइना कन्स्ट्रक्सन बैंकको अमेरिकास्थित न्यूयोर्क शाखाले पत्ता लगाएको थियो । ४ नोभेम्बर २०१३ देखि २७ फेब्रुअरी २०१७ सम्मको तीन वर्ष चार महिनामा नेपाल इन्भेस्टमेन्ट बैंकमा जेटीईले रकम जम्मा गरेको भेटिएको ‘फिनसेन’ ले उल्लेख गरेको छ । 

नेपाल इन्भेस्टमेन्ट बैंकको काठमाडौंस्थित कार्यालयमा ५ हजार ७०९.०९ अमेरिकी डलर (रु.६ लाख ७९ हजार ३८१), ५ हजार २४४.७७ अमेरिकी डलर (रु.६ लाख २४ हजार १२६), ४० हजार ३५७.७५ अमेरिकी डलर (रु.४८ लाख २ हजार ५७२) र १० अमेरिकी डलर (रु.१ हजार १९०) जेटीई कर्पोरेसनले जम्मा गरेको विवरणमा उल्लेख छ ।

फिनसेनले विभिन्न सञ्चारमाध्यमलाई हवाला दिंदै उल्लेख गरे अनुसार, पाँच वर्षकोे अनुसन्धानमा जेटीईले अमेरिकाले लगाएको प्रतिबन्धबाट बच्न ‘अनेक षडयन्त्र गरेको भेटियो’ भनेको छ । कम्पनीले ‘अमेरिकाबाट दूरसञ्चारका सामग्री खरिद गर्ने र ती सामग्रीलाई जेटीईको उपकरण भन्दै अवैधानिक रूपमा इरान पुर्‍याएर बिक्री वितरण गर्ने गरेको’ उल्लेख छ । जेटीईले अमेरिकी प्रतिबन्ध विरुद्ध नियामक निकायको आँखा छल्ने गरी विभिन्न मुलुकमा शंकास्पद धन कारोबार गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

जेटीई नेपालमा दूरसञ्चार उपकरण निर्यात गर्ने एक प्रमुख कम्पनीमा पर्छ । २०७२ वैशाखको भूकम्पलगत्तै नेपालको दूरसञ्चार कम्पनी एनसेलको टावर निर्माणका लागि उपकरण आयात गर्दा उसले रेडक्रसका स्टिकर टाँसेर राहत सामग्री भन्दै व्यावसायिक प्रयोजनका सामग्री भित्र्याउन खोजेको थियो । भन्सार जाँचपास गर्ने क्रममा उक्त कुरा पत्ता लागेपछि रु.१ करोड १० लाख भन्सार महसुल बुझाएर उसले ती सामान छुटाएको थियो । 

जेटीईसँगको रकम कारोबारको सम्बन्धमा नेपाल इन्भेस्टमेन्ट बैंकका ‘डेपुटी जनरल म्यानेजर’ बिजेन्द्र सुवालले प्रतिक्रियाका लागि शंकास्पद भनिएको कागजात नै पठाउनुपर्ने बताए । उनले बंंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आफूहरूले बैंक र ग्राहकबीचको सम्बन्ध खुलाउन नसक्ने बताए । इमेलमा हाम्रो प्रश्नको जवाफ दिंदै उनले भनेका छन्, 'उचित प्रमाणको अभावमा गोपनीयता सम्बन्धी कानूनी दायित्वका कारण हामी हाम्रा ग्राहक सम्बन्धी जानकारी खुलाउन सक्दैनौं ।' हामीले यस सम्बन्धमा जेटीईलाई इमेल गरेर प्रश्न राखेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन । 

‘सेतीदेवी’ लाई एभरेष्टको सहयोग
‘ट्याक्स हेवन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डस् टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु.१ करोड १९ लाख) नेपालमा ‘ट्रान्सफर’ भएको देखिन्छ ।

‘फिनसेन’ का अनुसार, जर्मन फ्यांकफर्टको ‘कमर्ज बैंक एजी’ ले न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सो रकम पठाएको थियो । न्यूयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिको नाममा एभरेष्ट बैंक, नयाँबानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ ।

५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु.७७ लाख ३५ हजार) र १४ अगष्ट २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु.१ करोड ४२ लाख ८० हजार) रकम सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिले प्राप्त गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ । 
सेतीदेवीले तीन पटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ वापतको रकम भएको जनाइएको छ । ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको रेकर्ड भेटिएन ।

एभरेष्ट बैंकका सूचना अधिकारी केशवराज पौडेलले ग्राहकको गोप्य विवरण भएकाले यस बारेमा राष्ट्र बैंकलाई मात्रै जानकारी दिन मिल्ने बताए । 'तपाईंले बुझन खोज्नुभएको गोप्य कुरा हो । राष्ट्र बैंकमा रिपोर्ट गर्ने हो । मलाई भन्ने अधिकार हुँदैन', पौडेलले भने, 'जुन कम्पनीले गरेको हो त्यसैलाई सोध्दा राम्रो हुन्छ । तैपनि म हाम्रो बैंकको सिस्टममा चाहिं भनिदिन्छु ।'

मेगामार्फत सेसल्स ४० लाख
काठमाडौंको एलडी इन्टरनेसनल प्रालिले २२ मे २०१५ मा ३३ हजार ७९८.७५ अमेरिकी डलर (रु.४० लाख २२ हजार ५१) मेगा बैंकमार्फत अमेरिकाको हबिब अमेरिकन बैंकमा पठाएको ‘फिनसेन’ ले उल्लेख गरेको छ । यो रकम इन्डोनेसियाको पिटी बैंक इन्टरनेसनल हुँदै ट्याक्स हेवन मुलुक सेसल्सस्थित इक्विटी वल्र्ड लिमिटेडले प्राप्त गरेको देखियो । 

नेपालबाट बाहिरिएको यो रकम सामान आयात बापतको हो । ‘फिनसेन’ ले शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) उल्लेख गरेको यस सम्बन्धी विवरणमा सामानको आयात तथा प्रयोजनबारे भने स्पष्ट खुलाएको छैन । कारोबारमा संलग्न नेपाली कम्पनी एलडी इन्टरनेसनल प्रालि सौरभकुमार अग्रवालको नाममा दर्ता छ । सौरभ काठमाडौं महानगरपालिका वडा नं १ का बासिन्दा हुन् । 
सौरभले आफ्नो कम्पनीको कुनै पनि कारोबार शंकास्पद नभएको बताए । 'हामीले नियम अनुसार प्रतितपत्र (एलसी) खोलेर बैंकमार्फत कारोबार गरिरहेका छौं', उनले भने, 'जे अनुसन्धान गर्दा पनि हुन्छ । हामीले यताउता तलमाथि केही गरेका छैनौं । २० वर्ष भइसक्यो व्यापार गरिरहेको १०० प्रतिशत ठीक छौं ।' सौरभले भारत तथा विभिन्न देशहरूबाट उद्योगका लागि आवश्यक ‘केमिकल’ आयात गरी बिक्री गर्ने गरेको बताए ।

बिओके र हिमालयन बैंक पनि 
२० नोभेम्बर २०१५ मा जर्मनको कमर्ज बैंक एजीमार्फत न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १२७.७९ अमेरिकी डलर (रु.१५ हजार २०७) रकम जम्मा भएको थियो । उक्त रकम नेपालको बैंक अफ काठमाण्डूमार्फत सुनिता शेर्पाले पाइन् । १४ डिसेम्बर २०१५ मा पनि तिनै बैंकहरूमार्फत सुनिताका नाममा ४२९.१० अमेरिकी डलर (रु.५१ हजार ६३) जम्मा भएको थियो । सोही दिन यही प्रक्रियाबाट ७१०.३१ अमेरिकी डलर (रु.८४ हजार ५२७) सुनिताको नाममा आयो । यसलाई पनि ‘फिनसेन’ ले शंकास्पद कारोबारको सूचीमा राखेको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, सुनिताको नाममा ‘फेल्ट एण्ड यार्न प्रालि’ कम्पनी दर्ता छ । उनको यो कम्पनीका नाममा विभिन्न मितिमा हिमालयन बैंकमार्फत शंकास्पद रकम भित्रिएको देखिन्छ । ‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, जर्मनको कमर्ज बैंक एजी हुँदै न्यूूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंक र त्यहाँबाट हिमालयन बैंक, काठमाडौंमार्फत ‘फेल्ट एण्ड यार्न प्रालि’ ले फरक फरक मितिमा ९ हजार ९८५ अमेरिकी डलर (रु.११ लाख ८८ हजार २१५) आठ पटक प्राप्त गरेको छ ।

३० अक्टोबर २०१५, ९ नोभेम्बर २०१५, १६ नोभेम्बर २०१५, २० नोभेम्बर २०१५, १५ जनवरी २०१६, २० जनवरी २०१६, २२ जनवरी २०१६ र १ फेबु्रअरी २०१६ मा थप कुल ७९ हजार ८८० अमेरिकी डलर (रु.९५ लाख ५ हजार ७२०) नेपाल भित्रिएको हो । फिनसेनले ‘यो रकम शंकास्पद हुँदाहुँदै पनि बैंकले निगरानी र अस्वीकार गर्ने काम नगरेको’ भनेको छ । बैंक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले यस सम्बन्धमा धेरै कुरै गर्न चाहेनन् । 

यो कारोबारमा संलग्न अर्को बैंक हिमालयन बैंकका सूचना अधिकारी सुशील जोशीले यसबारे भवानी घिमिरेसँग जानकारी भएकोले उनीसँग कुरा गर्न भने । घिमिरेले ‘केही पनि जानकारी नभएको र भए पनि ग्राहकको बारेमा भन्न नमिल्ने’ बताइन् । 

नेपाल रकम भित्र्याउने कम्पनीकी लगानीकर्ता सुनिता शेर्पाले शंकास्पद किन भनियो जानकारी नभएको बताइन् । 'अमेरिकामा पनि हामीले कम्पनी खोलेर कारोबार गरिरहेका छौं । करदेखि सबै कानूनी प्रक्रिया पूरा गरेर काम गरेका हौं', उनले भनिन् । उनले बताए अनुसार कम्पनीले न्यूजिल्यान्डको भेडाको ऊन यहाँ ल्याएर पाँच हजार प्रकारका सामग्रीहरू बनाउने गर्छ । जुन विदेशमा बिक्री हुन्छ । उनले भनिन्, 'हाम्रो १०० जनाको टिमले यो काम गर्छ । गत वर्ष हामीले रु.१५ करोडको कारोबार गरेका थियौं ।' 

उल्लिखित कारोबारमा संलग्न जर्मनको कमर्ज बैंक एजीका प्रवक्ताले बैंकिङ गोपनीयता र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनका कारण आफ्ना ग्राहक र कारोबारको बारेमा टिप्पणी गर्न नचाहेको प्रतिक्रिया आईसीआईजेलाई दिएका थिए ।   

बैंक अफ काठमाण्डूको अर्को सहयोग
‘फिनसेन’ बाट प्राप्त विवरण केलाउँदा बैंक अफ काठमाण्डू (बिओके) ले नेपालको ‘ओमन्स पेपर क्राफ्ट कम्पनी’ को नाममा शंकास्पद रकम भित्र्याउन सहयोग गरेको देखिन्छ । नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भएको देखिंदैन । तर पनि ६ र २० नोभेम्बर २०१५ मा जर्मनको कमर्ज बैंक एजी हुँदै न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड बैंक र त्यहाँबाट नेपालको बैंक अफ काठमाण्डू मार्फत सो कम्पनीले क्रमश ८७१.९९ अमेरिकी डलर (रु.१ लाख ३ हजार ७६७) र ७२४.६० अमेरिकी डलर (रु.८६ हजार २२७) प्राप्त गरेको थियो । 

३ डिसेम्बर २०१५ मा पनि सोही बैंकहरूको ‘रुट’ हुँदै ‘ओमन्स पेपर क्राफ्ट’ ले १ हजार १४६.५९ अमेरिकी डलर (रु.१ लाख ३६ हजार ४४४) प्राप्त गरेको देखिन्छ । उक्त कम्पनीले तिनै बैंकहरूमार्फत २२ डिसेम्बर २०१५ मा १ हजार १५२.८८ अमेरिकी डलर (रु.१ लाख ३७ हजार १९३) र ८ जनवरी २०१६ मा पनि ६२१.५२ अमेरिकी डलर (रु.७३ हजार ९६०) पाएको थियो ।

नेपालमा कुन कुन कम्पनी दर्ता भएको विवरण कम्पनी रजिष्ट्रार कार्यालयले वेबसाइटमा राख्छ । तर ओमन्स पेपर क्राफ्टबारे खोजी गर्दा वेबसाइटमा यो विवरण फेला परेन ।

जिन्दललाई बंगलादेश बैंकको सहयोग
न्यूयोर्कको ‘डच बैंक ट्रष्ट कम्पनी अमेरिकाज’ (डीबीटीसीए) ले ५ जून २०१६ देखि ११ जनवरी २०१६ सम्मको ११६ पटकमा ४ करोड २६ लाख २३ हजार ८२७.३२ अमेरिकी डलर (रु.५ अर्ब ७ करोड २२ लाख ३५ हजार ४५१) भारतको जिन्दल स्टिल एण्ड पावर लिमिटेड कम्पनीले कारोबार गरेको जानकारी पायो । यसबाट जिन्दल स्टिल एण्ड पावर कम्पनी यो कारोबारमा संलग्न भएको देखाउँछ ।

‘फिनसेन’ ले यो कारोबारमा ‘जिन्दल स्टिल एण्ड पावर लिमिटेड’, नेपाली कम्पनी ‘नेपाल इन्भेस्टमेन्ट’ सहित १२ विदेशी कम्पनीको संलग्नता रहेको जनाएको छ । यो कारोबारमा नेपाल बंगलादेश बैंक र अन्य १९ विदेशी बैंकको संलग्नता भएको खुलासा गरेको छ ।
भारतको नयाँदिल्लीमा मुख्य कार्यालय भएको ‘जिन्दल स्टील एण्ड पावर लिमिटेड’ को चीनको बेइजिङमा पनि शाखा छ । यसका संस्थापक भारतको हरियाणा कुरुक्षेत्रबाट लोक सभाका पूर्व सांसद नवीन जिन्दल हुन् । ‘फिनसेन’ का अनुसार, ‘उनी क्रिमिनल ब्रिच अफ ट्रष्ट (आपराधिक विश्वासघात) लगायतका आरोप लागेका व्यक्ति हुन् ।’ 

२० जनवरी २०१३ को ‘बिजनेस स्ट्याण्डर्ड पत्रिका’ का, अनुसार नवीन जिन्दलको बझाङको माथिल्लो सेती जलविद्युत् आयोजनामा १५०० करोड भारु (रु.२४ अर्ब) लगानी गर्ने योजना थियो । तर, उनले इजाजत लिएर लामो समय यो आयोजना ‘होल्ड’ गरेपछि सन २०१० मा सरकारले दर्ता खारेज गरिदिएको थियो ।

यस सम्बन्धमा बंगलादेश बैंकका सूचना अधिकारी तथा ‘अप्रेशन हेड’ सुरेश देवकोटाले उक्त कम्पनीको नाम पहिलो पटक सुनेको बताए । 'त्यो कम्पनीको नाम मैले पहिलोपटक सुनेको हो । हाम्रो बैंकमा कारोबार भएको छ/छैन पत्ता लगाएर मात्रै बोल्नुपर्छ', उनले भने, 'पुरानो कारोबार भएकोले तत्काल भेटिंदैन । खोज्न लगाएको छु । केही सूचना आयो भने तपाईंलाई भनौंला ।'

इराकबाट भित्रियो शंकास्पद धन
१६ फेब्रुअरी २०१६ मा इराकको कुर्दिस्तान ठेगाना भएका हुसामहतिफ नुरले काठमाडौं महानगरपालिका वडा नम्बर–६ बौद्धका कोइसी शेर्पालाई १ हजार २२० अमेरिकी डलर (रु.१ लाख ४५ हजार १८०) पठाएका थिए । शेर्पाले नेपालमा रकम भने १ हजार १७५.९९७ अमेरिकी डलर (रु.१ लाख ३९ हजार ९४३) मात्रै प्राप्त गरेको देखिन्छ ।

उक्त रकम इराकस्थित बगदादको अलनिबलअल अरबिया मनी ट्रान्सफर कम्पनीले कामनपा ६ बौद्धकै एक्मी मनी टान्सफर सर्भिसमार्फत भुक्तानी गरिदिएको थियो । एक्मी मनी ट्रान्सफर कम्पनी राजेश लामाको नाममा दर्ता छ ।

५ मार्च २०१६ मा कइस नजतजलालले इराकस्थित बगदादको अलनिबलअल अरबिया मनी ट्रान्सफर कम्पनी मार्फत अस्मान घिसिङलाई ८२० अमेरिकी डलर (रु.९७ हजार ५८०) पठाएका थिए । उक्त रकम कामनपा महाँकाल सरस्वतीनगरस्थित कपनको सन्नी इन्टरप्राइजेज मार्फत ७८८.८९ अमेरिकी डलर (रु.९३ हजार ८७८) भुक्तानी भएको थियो । जबकि नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कपन ठेगाना उल्लेख गरेर सन्नी इन्टरप्राइजेज भन्ने कम्पनी दर्ता भएको छैन । 

१ फेब्रुअरी २०१६ मा बिक्रम गुरुङले इराकको बगदादस्थित अलनिबलअल अरबिया मनी ट्रान्सफरबाट २७० अमेरिकी डलर (रु.३२ हजार १३०) नेपाल पठाएका थिए । यो रकम पोखरा उपमहानगरपालिका वडा नं १ कास्की, हरिचौरको एपेक्स डेभलपमेन्ट बैंकको शाखामार्फत शान्ता गुरुङले २५४.८६ अमेरिकी डलर (रु.३० हजार ३२८) प्राप्त गरेको ‘फिनसेन’ले जनाएको छ । एपेक्स डेभलपमेन्ट बैंक अहिले नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग मर्ज भइसकेको छ । 

१० जनवरी २०१६ मा बिक्रमले इराकको सोही मनी ट्रान्सफरमार्फत मुस्तफा हुसामद्दिन एफखुदुरलाई १ हजार ५०० अमेरिकी डलर (रु.१ लाख ७८ हजार ५००) पठाएका थिए । खुदुरले इजिप्टको एलेक्जेन्ड्रियास्थित आईबीएजी मनी ट्रान्सफरको मोन्टाजा शाखाबाट उक्त रकम पाएका थिए । फेरि बिक्रमले सरब जफरलाई पनि ४१० अमेरिकी डलर (रु.४८ हजार ७९०) पठाएका थिए । जफरले स्वीडेनको स्टक होमस्थित होग्दलीन स्वक्स कम्पनीमार्फत उक्त रकम प्राप्त गरेको देखिन्छ । उल्लिखित कारोबारहरूमा कपनको सन्नी इन्टरप्राइजेज नामको व्यावसायिक निजी कम्पनी समेतको संलग्नताले रेमिटेन्सको रूपमा पठाएको पैसा मात्र नहुन सक्ने देखिन्छ ।

उल्लिखित कारोबारमा संलग्न नेपाली एक्मी मनी ट्रान्सफर कम्पनीका सञ्चालक राजेश लामाले सबै विवरण सोधेर मात्रै रकम भुक्तानी दिने गरेको तर शंकास्पदबारे जानकारी नभएको बताए । 'सबै ग्राहकले आफ्नो परिचयपत्र लिएर आउँछन् । त्यसका आधारमा हामीले भुक्तानी दिने हो', उनले भने, 'उसको कहाँ के के हुन्छ ? हामीलाई थाहा हुने कुरा भएन ।' 

नेपाल र एकमुष्ट ट्रान्सफर
‘फिनसेन’मा उल्लेख भए अनुसार, सम्पत्ति शुद्धीकरण र आर्थिक कारोबारका दृष्टिले उच्च जोखिमयुक्त मुलुकहरूमा एकमुष्ट रकम ट्रान्सफर भएको देखिन्छ । एउटा उदाहरण हो ४ नोभेम्बर २०१५ देखि १९ जनवरी २०१६ सम्म लक्जेम्बर्गको डुओडिकड नामक आईटी कम्पनीले गरेको कारोबार– जसले १५ पटकमा (२४ हजार ७१२.३५ अमेरिकी डलर (रु.२९ लाख ४० हजार ७६९) ‘ट्रान्सफर’ गरेको थियो । ‘फिनसेन’का अनुसार, उक्त रकम नेपाल, क्यानडा, कतार, जाम्बिया र हङ्गेरीका नाम नखुलेका पाँच व्यक्तिका नाममा जम्मा भएको छ ।

डुओडिकड आईटी कम्पनी, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र लक्जेम्बर्र्गको सोसाइटी युरोपेनी डी बैंक एस.ए कम्पनीले ७ अप्रिल २०१५ देखि २२ जून २०१५ सम्ममा २० पटक २९ हजार ८०५.२३ अमेरिकी डलर (रु.३५ लाख ४६ हजार ८२२) पठाएको देखिन्छ । उक्त रकम १८ पटकमा नेपाल, क्यानडा, हङ्गेरी र लक्जेम्बर्गका विभिन्न व्यक्तिका नाममा पठाइएको थियो ।

२ डिसेम्बर २०१४ देखि २३ मार्च २०१५ सम्म ड्युडेकड, लक्जेम्बर्गको सोसाइटी युरोपेनी डी बैंक एस.ए, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र जर्मनीको यूनिक्रेडिट बैंक एजीले ४७ पटकमा २ करोड ९९ लाख ३९ हजार ५६.८४ अमेरिकी डलर (रु.३ अर्ब ५६ करोड २७ लाख ४७ हजार ७६४) ट्रान्सफर गरेको थियो । यसमध्ये डुओडिकड आईटीले ३६ पटकमा जोर्डन, बलिज, नेपाल, क्यानडा, हङ्गेरी र बेलायतस्थित अर्थपोर्टका विभिन्न व्यक्तिलाई रकम पठाएको थियो ।

डुओडिकड आईटीले पेअनियरका विभिन्न खाता प्रयोग गरेर १५२ पटकमा १ करोड ११ लाख ८२ हजार ९२९.६३ अमेरिकी डलर (रु.१ अर्ब ३३ करोड ७ लाख ६८ हजार ६२६) ट्रान्सफर गरेको थियो । जुन रकम कोस्टारिका, सिङ्गापुर, रोमानिया, चीन, रसिया, क्यानडा, अमेरिका, नेपाल, जर्मनी, युक्रेन, पोल्याण्ड, सेसल्स, काजकिस्तान, युगाण्डा, हङ्गेरी, बंगलादेश, ग्वाटेमाला, नेदरल्याण्ड्स र फिलिपिन्सका विभिन्न व्यक्ति र संस्थालाई पठाइएको थियो ।

सबै कारोबार गैरकानूनी भएकाले ‘फिनसेन’ ले शंकास्पदको सूचीमा राखेको हो । फिनसेनले उक्त कारोबार ‘नेपाल, भारत, पाकिस्तान, लेबनान, रसिया, इथियोपिया, इजिप्ट, नाइजेरिया, कम्बोडिया, क्यामरुन, युगान्डा, युएई, बहराइन, रुवान्डा र अफगानिस्थान जस्ता सम्पत्ति शुद्धीकरणको काम हुने उच्च जोखिमयुक्त मुलुकमार्फत भएको’ उल्लेख गरेको छ ।

त्यसैगरी अमेरिकाको केन्टकीस्थित सुरक्षा सेवा प्रदान गर्ने एमएस सेक्युरिटी कम्पनीले विभिन्न कारोबार गरेको देखिन्छ । कम्पनीको खाताका हस्ताक्षरकर्ता याकुब ए सिद्या र इस्मेल पिनो हुन् । अमेरिकामा भएको उक्त कम्पनीमार्फत नेपाल र शंकास्पद आर्थिक गतिविधि हुने उच्च जोखिमयुक्त मुलुकमा १७ लाख ३७ हजार ४५८.२९ अमेरिकी डलर (२० करोड ६७ लाख ५७ हजार ५३६) पठाएको देखिन्छ । यो कारोबारमा अमेरिकाको फस्ट फाइनान्सियलमार्फत अन्य बैंकहरू प्रयोग भएको ‘फिनसेन’ ले औंल्याएको छ ।

उक्त कारोबारका बारेमा सम्बन्धित बैंकहरूको ‘एन्टी मनी लाउन्डरिङ’ निगरानी प्रणालीले सम्पत्ति शुद्धीकरणको गतिविधि भएको भन्दै सचेत गराएको थियो । उक्त कारोबारबारे बैंकहरूले गरेको समीक्षा अनुसार १८ अक्टोबर २०१३ देखि ११ फेब्रुअरी २०१४ बीचमा १२० पटक गरेर न्यूनतम ३०० देखि अधिकतम १ लाखसम्म गरी कुल ११ लाख ७२ हजार ४०५.९१ अमेरिकी डलर (रु.१३ करोड ९५ लाख १६ हजार ३०३) कारोबार भएको थियो । 

धेरैजसो कारोबार पश्चिम अफ्रिकामा रहेका विभिन्न व्यक्तिका नाममा मासिक रूपमा पठाइएको सानो रकमको छ, जुन उही वा उस्तै आकारको छ । विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) मार्फत पठाइएको सानो आकारको रकम नेपाल, दक्षिण अफ्रिका, युएई, फ्रान्स, चीन, स्पेन, रिपब्लिक अफ आयरल्याण्ड, बेलायत, भारत, नेदरल्याण्ड र मोरिटेनियामा रहेका विभिन्न व्यक्तिका नाममा पठाइएको छ ।

उल्लिखित कारोबारका सम्बन्धमा लक्जेम्बर्गको डुओडिकड कम्पनीलाई हामीले इमेल मार्फत सोधेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त हुन सकेन ।

कारोबार नखुली भुक्तानी
८ अक्टोबर २०१५ देखि १६ मे २०१६ सम्म इडनबर्ग, स्कटल्याण्डको इपोक आफ्लुअन्ट भेन्चर कम्पनीले विभिन्न देशका कम्पनी तथा संस्थालाई ५६ पटक रकम पठाएको थियो । कम्पनीले लाट्भियारिगस्थित रिजनल इन्भेस्टमेन्ट बैंक र रसियाको मस्कोस्थित नोभिकोम बैंकमा रहेको आफ्ना खाताबाट ३६ लाख ६८ हजार २०८.११ अमेरिकी डलर (रु.४३ करोड ६५ लाख १६ हजार ७६५) पठाएको छ ।
कम्पनीले यो रकम नेपाल, चीन, हङकङ, अमेरिका, रसिया, डेनमार्क, कोलम्बिया, थाइल्याण्ड, पानामा, टर्की, इजरायल, बेल्जियम, जर्मनी, भियतनाम र नेदरल्याण्डका विभिन्न संस्था तथा व्यक्तिको बैंक खातामा पठाएको थियो ।

‘फिनसेन’ का अनुसार, अमेरिकाको न्यूयोर्कस्थित बैंक अफ चाइनाले उक्त कारोबारलाई शंकास्पद भनेको छ । बैंकका अनुसार, उक्त कारोबार आर्थिक, व्यापार वा कानूनी उद्देश्यका लागि भएको देखिंदैन ।

पुरातात्विक सामग्रीको तस्करी
‘फिनसेन’ का दुई छुट्टाछुट्टै प्रतिवेदनले नेपालको पुरातात्विक सामग्रीहरूको चोरी पैठारीमा अवैध आर्जन जोडिने गरेको पत्ता लगाएको छ । प्रतिवेदनले अमेरिकाको न्यूयोर्कमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ‘अमेरिकामा कलाकृति र पुरातात्विक सामग्रीको कारोबार गर्ने ‘न्यान्सी विनर ग्यालरी’ले शंकास्पद आर्थिक गतिविधि गरेको भनेर उसलाई शंकाको घेरामा राखेको’ उल्लेख छ ।

‘फिनसेन’ले न्यान्सी विनर नाम गरेकी महिलाको न्यान्सी विनर ग्यालरी र अन्य धेरै कम्पनीले अन्तर्राष्ट्रिय तस्करहरूले लुटेका कलाकृति लाखौं डलरमा लिने र ती सामग्रीलाई अवैध रूपमा बिक्री गर्ने काममा संलग्न भएको देखाएको’ छ ।

‘फिनसेन’का अनुसार न्यान्सी विनर ग्यालरीले भारतबाट कलाकृतिहरू तस्करी गरेर अमेरिका पठाउने काममा सहयोगीको भूमिका निर्वाह गर्ने सुवास कपुर हुन् । कपुर अमेरिकामा रहेको ‘आर्ट अफ दि पास्ट’ नामक आर्ट ग्यालरीका सञ्चालक हुन् ।

फिनसेनका अनुसार, न्यूयोर्कमा रहेका बेला कपुरलाई १०७ मिलियन अमेरिकी डलर मूल्य पर्ने चोरीका हजारौं कलाकृतिका सामग्रीहरू राखेको आरोप लागेको थियो । यही आरोपमा कपुर ३० अक्टोबर २०११ मा जर्मनको फ्र्याङफर्ट अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्टरपोलद्वारा पक्राउ परेका थिए ।

२३ मार्च २०१० देखि २ मार्च २०१७ सम्मको अवधिमा न्यान्सी विनर ग्यालरी लगायतका केही कम्पनीहरू संलग्न भएर ४१३ पटक गरी कुल २ करोड ७८ लाख ८६ हजार २०३.१० अमेरिकी डलर (रु.३ अर्ब ३१ करोड ८४ लाख ५८ हजार १६९) को कारोबार गरेका थिए । योमध्ये न्यान्सी विनर ग्यालरीले हङकङ र बेलायतमा भएको प्यानथियन लिमिटेडलाई १ लाख ५० हजार अमेरिकी डलर (रु.१ करोड ७८ लाख ५० हजार) पठाएको थियो ।

कलाकेन्द्रका रूपमा परिचित अमेरिकाको न्यूयोर्कस्थित ‘न्यान्सी विनर ग्यालरी यस्तो रकम पठाउने र लिने काममा संलग्न भएको देखिन्छ । यो कम्पनीले गरेको कारोबारमध्ये १६ मार्च २०१० को चलानी अनुसार, नेपालको १६औं शताब्दीका कास्य (काँचको धातुबाट बनेको सामग्री) बिक्री गरेको थियो । 

‘फिनसेन’का अनुसार अमेरिकाको न्यान्सी विनर हमिल नामका व्यक्तिले प्यान्थियन वल्र्ड वाइड लिमिटेडलाई १ लाख ५० हजार अमेरिकी डलर (रु.१ करोड ७८ लाख ५० हजार) पठाएको विवरणबाट देखिन्छ । भुक्तानी कारोबार अनुसार ‘चलानी मिति १६ मार्च २०१० मा १६औं शताब्दीको कास्य नेपाल’, ‘१७औं शताब्दीको अर्हत (बुद्ध) को मूर्तिको आधा सेयर’ ‘जंगलमा राम, सीता र लक्ष्मण भएको देखिने पेन्टिङ्ग बिक्री’ भन्ने उल्लेख छ । त्यसका लागि तिब्बत, नेपाल, भारत पूर्वी एशियाबाट भुक्तानी भएको देखिन्छ । यी कारोबारहरूले कलाको कारोबारलाई समेत सम्पत्ति शुद्धीकरणको माध्यमको रूपमा प्रयोग गरिएको स्पष्ट हुन्छ ।

अर्को कम्पनी ‘प्यानथियन वल्र्ड वाइड’ ‘नेपाली थाङ्का’ र ‘३८ सेन्टीमिटर उँचाइ रहेको दोस्रो शताब्दीको गन्धारा बस्ने बोधिसत्वको मूर्ति खरिद गरे बापत’ रकम लिने काममा संलग्न भएको खुलेको छ ।

‘फिनसेन’ले ‘जून २०१२ देखि मार्च २०१३ सम्ममा ब्रुकलिनको आर्ट डिलर नाइफ होम्सीले नेपाल र भारतका मन्दिरबाट चोरिएका पुरातात्विक महत्वका धार्मिक कलाकृतिहरू करीब ५ लाख अमेरिकी डलर (रु.५ करोड ९५ लाख) मूल्यमा बिक्री गरेको’ खुलासा गरेको छ ।

‘यी लेनदेनहरू सम्भवतः कलाकृतिहरूको अवैधानिक स्थानान्तरणलाई सजिलो बनाउनका लागि प्रयोग गरिएको थियो’– ‘फिनसेन’ प्रतिवेदनमा भनिएको छ । ‘फिनसेन’ले समीक्षा गर्ने क्रममा यस्तै कारोबारमा नेइफहोम्सी (एलसीसी) ले प्यानथियन नामक कम्पनीबाट ३.६ मिलियन अमेरिकी डलर पाएको उल्लेख गरेको छ । ‘फिनसेन’ प्रतिवेदन भन्छ– ‘नेइफहोम्सीले ब्रुकलिन आर्ट डिलरको रूपमा काम गर्ने गरेको छ ।’

आईसीआईजे आबद्ध भारतका पत्रकार श्यामलाल यादवले मूर्ति चोरीमा संलग्न कपुरका कानूनी सल्लाहकारसँग सम्पर्क गर्दा सुवास कपुर उपचारका क्रममा भएकाले कुनै प्रतिक्रिया दिन नसक्ने बताए । न्यान्सी विनरबाट हामीले कुनै प्रतिक्रिया प्राप्त गर्न सकेनौं ।

नेपाली नाम, थर र ठेगाना उल्लेख 
‘फिनसेन फाइल्स’ मा विदेशमा कारोबार गर्ने धेरै नेपाली अथवा नेपालीसँग मिल्दो नाम भएका व्यक्तिहरू पनि मुछिएका छन् । नेपाली नाम, थर, ठेगाना उल्लेख भएका त्यस्ता कारोबारहरूको संख्या झन्डै दर्जन हाराहारी छ ।

एउटा उदाहरण हो १ जुलाई २०१३ देखि १३ सेप्टेम्बर २०१३ सम्मको कारोबार । न्यूयोर्कको स्ट्याण्डर्ड चार्टर्ड बैंकले गरेको समीक्षामा विदेशमा बस्ने नेपालीको नाम भेटिएको हो । जसलाई ‘फिनसेन’ ले शंकास्पद सूचीमा राखेको छ । ‘फिनसेन’ को विवरण अनुसार, अमेरिकाको ग्लोबल मनी ट्रान्सफर्स (जीएमटी) ले गरेको कारोबार सम्पत्ति शुद्धीकरण र शंकास्पद धनसँग सम्बन्धित छ । जीमएटीले यो अवधिमा ९३१ पटकमा ३ करोड ३९ लाख ४२ हजार २७२.८६ अमेरिकी डलर (रु.४ अर्ब ३ करोड ९१ लाख ३० हजार ४७०) रकम पठाएको बैंकले पहिचान गरेको थियो ।

फिनसेनका अनुसार, यो कम्पनीले उक्त रकम पठाउन इजरायलको ‘इजरायल डिस्काउन्ट बैंक लिमिटेड’ लाई प्रयोग गरेको थियो । यो कारोबारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, न्यूयोर्कले मध्यस्थकर्ताको भूमिका खेल्यो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले उक्त कारोबार शंकास्पद रहेको २२ नोभेम्बर २०१३ मा मात्रै थाहा पायो ।

ग्लोबल मनी ट्रान्सफर्स (जीएमटी) मार्फत भएको शंकास्पद कारोबारहरूमा नेपाली थर भएका व्यक्तिहरू संलग्न देखिन्छन् ।

उनीहरूको सम्बन्ध हङकङसँग देखिन्छ । हङकङमा ठेगाना रहेको एड्भान्स बिजनेस इन्टरनेसनल लिमिटेडले १ जुलाई २०१३ देखि १२ सेप्टेम्बर २०१३ सम्मका ३१ पटकमा (४८ लाख ६७ हजार ५२८ अमेरिकी डलर (रु.५७ करोड ९२ लाख ३५ हजार ८३२) रकम पायो ।
उक्त रकम हङकङको ह्याङ सेङ बैंक लिमिटेडमार्फत एडभान्स बिजनेसले प्राप्त गरेको हो । जुन रकम न्यूयोर्ककोे जेपी मोर्गन चेज बैंकमार्फत टीकाबहादुर चौलागाईले पठाएको ‘फिनसेन’ले उल्लेख गरेको छ ।

चौलागाईले यस्तै अर्को कारोबार गरेको देखिन्छ । हङकङमा कार्यालय रहेको डायनामिक्स हङकङ लिमिटेडले ३ सेप्टेम्बर २०१३ देखि १२ नोभेम्बर २०१३ सम्म १९ पटकमा ३७ लाख अमेरिकी डलर (रु.४४ करोड ३ लाख) पायो । उक्त रकम हङकङको विङ लङ बैंकमार्फत प्राप्त भएको थियो । अमेरिकाको न्यूयोर्कको मोर्गन चेज बैंकमार्फत टीकाबहादुर चौलागाईले नै सो रकम पनि पठाएका थिए ।

अर्को कारोबारमा पनि नेपाली थर भएका तीन व्यक्तिहरू संलग्न छन् । हङकङमा रहेको गोर्खा मल्टी सेवा इन्टरनेसनल लिमिटेडले १९ अगष्ट २०१३ देखि १२ नोभेम्बर २०१३ सम्म ११ पटकमा ८ लाख ९९ हजार ७९२ अमेरिकी डलर (रु.१० करोड ७० लाख ७५ हजार २४८) रकम पायो । हङकङको इण्डस्ट्रियल कमर्सियल बैंक अफ चाइना एशिया लिमिटेडमार्फत उक्त रकम प्राप्त भएको थियो । 
अमेरिकाको न्यूयोर्कमा रहेको मोर्गन चेज बैंकमार्फत कुलचन्द्र रिमाल, रामबहादुर केसी र तेन्जिन शेर्पाले उक्त रकम पठाएको ‘फिनसेन’ प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै स्वीट्जरल्याण्डकोे किकलेक्ट कम्पनीले १४ अगष्ट २०१३ देखि ४ नोभेम्बर २०१३ सम्म ११ पटकमा १ लाख ८६ हजार ९५८ अमेरिकी डलर (रु.२ करोड २२ लाख ४८ हजार २) रकम पाएको थियो । उक्त रकम स्वीट्जरल्याण्डको जुरिचस्थित युबीएस एजी नामक बैंकमार्फत प्राप्त गरेको थियो । 

अमेरिकाको वासिंगटन डीसीमा रहेको युबिएस एजी बैंकको शाखामार्फत सेन्दाङ जंग खड्गा, विनोद बिक र राजी विश्वकर्माले उक्त रकम पठाएका थिए । त्यस्तै हङकङमा ठेगाना भएका नगेन्द्रकुमार लिम्बूले १९ अगष्ट २०१३ मा एक पटकमा ६० हजार अमेरिकी डलर (रु.७१ लाख ४० हजार) रकम पाएका थिए । उनले उक्त रकम हङकङको बैंक अफ चाइना हङकङ लिमिटेडको खातामा प्राप्त गरेका थिए । न्यूयोर्कको बैंक अफ चाइनाबाट उक्त रकम कुलचन्द्र शर्माले पठाएका थिए ।

व्यक्ति मात्रै हैन, नेपाली नामसँग मिल्ने गरी स्थापना भएको एक विदेशी कम्पनीबाट पनि शंकास्पद आर्थिक क्रियाकलाप भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ । 

नाइजेरियाको इटिल्सन् मर्चेन्ट लिमिटेडले १८ डिसेम्बर २००६ देखि १० मे २०१२ सम्ममा २ करोड ८ लाख २१ हजार १८२ अमेरिकी डलर (रु.२ अर्ब ४७ करोड ७७ लाख २० हजार ६५८) शंकास्पद मानिएको रकम कारोबार गर्दा नाइजेरियामा स्थापित ‘नेपाल ओइल एण्ड ग्याँस सर्भिसेस लिमिटेड’ नामक कम्पनी पनि संलग्न भएको देखिन्छ । यो कम्पनीले पेट्रोलियम पदार्थको व्यापार तथा निर्यात गर्ने काम गर्छ । यो नाइजेरियामा सन् २००४ मा दर्ता भएको कम्पनी हो ।

नाइजेरियामा नेपाल र नेपाली जोडिने नाम भएको नेपाल ओइल एण्ड ग्याँस सर्भिसेसको शाखा कम्पनी हो– नेपाल फ्लाई लिमिटेड । यो सन् २०१७ मा त्यहाँको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको देखिन्छ । यसको वेबसाइट अनुसार, विदेशीले नै यो कम्पनी स्थापना गरेका हुन् । त्यहाँस्थित स्रोतले ‘नाइजेरियामा बस्ने केही नेपालीको समेत यो कम्पनीमा संलग्नता रहेको हुनसक्ने’ दाबी गरे पनि यसको पुष्टि हुन सकेन ।

आर्थिक कारोबारको दृष्टिले सुशासनयुक्त मानिने अष्ट्रेलिया समेत शंकास्पद कारोबारमा नेपालसँग जोडिन पुगेको छ । फिनसेन प्रतिवेदन अनुसार, १ डिसेम्बर २०१४ देखि ६ डिसेम्बर २०१५ सम्म २० पटकमा विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) गरेर २४ लाख १ हजार ४०३.०३ अमेरिकी डलर (रु.२८ करोड ५७ लाख ६६ हजार ९५७) को कारोबार भएको छ । न्यूयोर्कको ‘डच बैंक ट्रष्ट कम्पनी अमेरिकाज’ मार्फत कारोबार भएको हो ।

अस्ट्रेलियाको काठमाडौं पीटीवाई लिमिटेडले हङकङको सिनोवे इण्डस्ट्रियल लिमिटेडलाई अष्ट्रेलियाकै कमनवेल्थ बैंकमार्फत यो रकम पठाएको थियो । सिनोवेले रकम लिने क्रममा हङकङमा रहेको हङकङ एण्ड साङघाई बैंकिङ कर्पोरेसन र हङकङमा रहेको बैंक अफ चाइनालाई प्रयोग गरेको थियो । ग्राहकहरूलाई कम्पनीहरूको व्यापार र कानूनी विषयमा सूचना प्रदान गर्ने अमेरिकाको लेक्सिस्नेक्सिस्का अनुसार, काठमाडौं पीटीवाई लिमिटेड साउथ मेलबर्न भिक्टोरिया अष्ट्रेलियामा ठेगाना भएको कम्पनी हो । यो खेलकुदका कपडाहरूको अनलाइन र खुद्रा बिक्रेता कम्पनी हो ।

नेपाली बैंकका कानून उल्लंघन
नेपालमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन– २०६४’ अनुसार बैंक तथा वित्तीय संस्थाहरूले शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) लाई दिनुपर्छ । यसको अर्थ बैंक तथा वित्तीय संस्था यस्ता मामिलका सूचक संस्था हुन् । जसले ‘आफ्नो बैंक मार्फत गर्ने व्यावसायिक कारोबार, खाता सञ्चालन, तोकिएको रकम भन्दा बढीको आकस्मिक कारोबार, विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) लगायतको काम गर्दा ती ग्राहकको निगरानी गर्नुपर्ने’ हुन्छ ।

कानून अनुसार, ग्राहकले वेनामी वा काल्पनिक नाममा कारोबार गर्न पाउँदैनन् । यदि कसैले वेनामी वा काल्पनिक नाममा कारोबार गर्न खोजे वास्तविक धनी समेत पहिचान गर्नुपर्ने कानूनी व्यवस्था छ । यसबाहेक राजनीतिक, प्रशासनिक तथा न्यायिक क्षेत्रका ‘उच्च पदस्थ व्यक्तिहरू र उनीहरूले गर्ने कारोबार’ को छुट्टै जानकारी राख्नुपर्छ । पहिचान गर्नका लागि सम्बन्धित व्यक्तिसँगै विवरण माग्ने, नभए तेस्रो पक्षसँग समेत जाँचबुुझ गर्नुपर्ने व्यवस्था छ । यसरी प्राप्त सूचना पाँच वर्षसम्म सूचक संस्थाले राख्नुपर्नेछ ।

तर, ‘फिनसेनले उल्लेख गरेका अधिकांश कारोबार शंकास्पद, वेनामी, अवैध कम्पनी र उच्च जोखिमयुक्त मुलुक मार्फत हुँदा पनि नेपालका बैंकहरूले सहजै स्वीकार गरेको देखिन्छ । ‘फिनसेन’मा उल्लिखित विवरणले स्पष्ट गर्छ कि नेपालका बैंकहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनको उल्लंघन गरेका छन् ।

यस्तो कसुर गर्नेलाई ऐनले कारबाहीको व्यवस्था गरेको छ । जस अनुसार पहिलो चरणमा राष्ट्र बैंकले लिखित रूपमा सचेत गराउन सक्छ । ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लङ्घन गरेमा सोको गाम्भीर्यका आधारमा क्यासिनो व्यवसायी तथा वित्तीय संस्थालाई दश लाखदेखि पाँच करोड रुपैयाँसम्म र अन्य सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्ने’ ऐनको  दफा ७ (फ) मा भनिएको छ– ‘कारोबार, पेशा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रूपमा रोक लगाउने, अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने वा अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्ने ।’

‘फिनसेन फाइल्स’ मा उल्लिखित विवरण अनुसार, नेपालका बैंक तथा संस्थाहरूले उक्त कानूनको मात्रै हैन सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अन्तर्राष्ट्रिय मान्यता विपरीतको काम गरेका छन् । शंकास्पद कारोबार इरान, उत्तरकोरिया, क्युबालगायत अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएका मुलुकहरूसँग सम्बन्धित छ ।

अमेरिका मात्रै हैन उक्त मुलुकहरूलाई सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले उच्च जोखिमको सूचीमा राखेको छ । नेपाल एफएटीएफको सदस्य राष्ट्र रहेकाले उक्त ‘उच्च जोखिमयुक्त’ मुलुकहरूमा कारोबार गर्न नहुने प्रमुख दायित्व रहन्छ ।

बैंक तथा वित्तीय संस्थामार्फत हुने सम्पत्ति शुद्धीकरणको मामिला निगरानी राख्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई ‘रिपोर्टिङ’ गर्न र ग्राहकको निगरानी गर्न चुकेका बैंकहरूलाई कारबाही गरेको बताए । यस मामिलामा तीन बुँदामा उनको टिप्पणी यस्तो थियो ।

एक– नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सम्पत्ति शुद्धीकरण विरुद्धका कानूनहरू बनाएको छ । राष्ट्र बैंकभित्र वित्तीय जानकारी इकाई (एफआईयू) र बाहिर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । उनले भने, 'कानूनी र संरचनात्मक व्यवस्था हुँदाहुँदै पनि सम्पत्ति शुद्धीकरणका घटना हुँदैनन् भन्ने होइन र कार्यान्वयनमा सशक्त छाैँ भन्ने अवस्थामा हामी छैनौं ।'

दुई– सुशासन र विकासको हिसाबले कमजोर मुलुकहरूमा यस्ता घटना झन् बढी हुन्छन् । 'हामी नगदरहित कारोबारमा निकै पछाडि छौं । एउटा व्यक्तिको सम्पूर्ण अभिलेख राख्ने राष्ट्रिय परिचयपत्र जस्तो प्रणाली हामीसँग छैन । यी दुई कारणले हामीकहाँ अवैध कारोबार हुने जोखिम बढी छ ।' 

तीन– ‘नो योर कस्टमर’ (केवाईसी) र सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी नराख्ने र रिपोर्टिङ नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई १० लाख रुपैयाँ भन्दा बढीका दरले ‘पेनाल्टी’ तिराइसकिएको छ । उनले भने, 'कानूनी र संरचनात्मक व्यवस्था भइसकेको हुँदा राष्ट्र बैंक र सरकार सम्पत्ति शुद्धीकरण मामिलामा एकदमै कठोर छन् । यसमा कहीं कतै सम्झौता हुने छैन ।'

के हो ‘फिनसेन फाइल्स’ ?
अमेरिकालगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ । त्यस्तो देखिए ६० दिनभित्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) लाई जानकारी दिनुपर्छ । यो अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ दी टे«जरी’ अन्तर्गतको निकाय हो । यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो ।

विभिन्न कागजातहरूबाट कुनै ग्राहकको बारेमा प्रश्न उठ्ने अवस्था आएपछि अमेरिकी बैंकहरूले त्यसबारे ‘फिनसेन’ लाई जानकारी गराउने गर्छन् । यस्तो निगरानीका क्रममा प्रत्येक वर्ष ‘फिनसेन’ मा शंकास्पद धनको कारोबार र ओसारपसार सम्बन्धी १० लाखभन्दा बढी प्रतिवेदनहरू तयार हुन्छन् । 

‘फिनसेन’ का २ हजार १२१ शंकास्पद प्रतिवेदनहरू अमेरिकी सञ्चारगृह ‘बजफिड न्यूज’ ले प्राप्त गर्‍यो । उसले ‘फिनसेन’ बाट उक्त प्रतिवेदनहरूसहित २ हजार ६५७ फाइलहरू आईसीआईजेलाई उपलब्ध गरायो । त्यसका आधारमा आईसीआईजे, ‘बजफिड न्यूज’ र अन्य संचार संस्थाहरूबीच भएको सहकार्यमा १६ महिना लामो अनुसन्धान पछि यो खुलासा गरेको हो । जसलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको छ । 

यो खुलासामा आईसीआईजे, बजफिडसहित ८८ देशका ११० सञ्चारमाध्यम आवद्ध ४०० भन्दा बढी पत्रकार सहभागी भएर थप खोज गरेका हुन् । खोजी गर्ने क्रममा पत्रकारहरूको समूहले सूचनाको हक सम्बन्धी निवेदन र अन्य स्रोतबाट वित्तीय संस्था र कारोबारसम्बन्धी थप १७ हजार ६४१ रेकर्डहरू प्राप्त गरेका थिए । 

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएको कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक कारोबार र ओसारपसारबारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका हुन् । फिनसेनले बैंकहरूबाट प्राप्त गरेको विवरण अनुसार, कुल २० खर्ब ९९ अर्ब ५८ करोड ५९ लाख २७ हजार २७५.४७ अमेरिकी डलरको शंकास्पद कारोबार भएको देखिन्छ ।

आईसीआईजेले संयुक्त राष्ट्रसंघको ‘ड्रग एण्ड क्राइम अफिस’ ले गरेको संगठित अपराध र लागूऔषधको तस्करी गरेर आर्जन गरिएको अवैध धनबारे अध्ययन प्रतिवेदनलाई उद्धृृत गरेको छ । जसमा सन् २००९ मा आपराधिक तरिकाले गरेको आम्दानी विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.६ प्रतिशत रहेको देखाएको थियो । जीडीपीको २.७ प्रतिशत अर्थात् १६ खर्ब अमेरिकी डलर रकम चाहिं शुद्धीकरण गरिएको अध्ययनको निष्कर्ष थियो । 'सोही तथ्यांक विश्लेषण अनुसार विश्व अर्थतन्त्रको २.७ प्रतिशत रकम अवैध रूपमा आर्जन गरिएको धन हो', आईसीआईजेले भनेको छ, 'यो रकम अन्तर्राष्ट्रिय वित्तीय प्रणाली मार्फत शुद्धीकरण गरियो । अहिले यो रकम २४ खर्ब अमेरिकी डलर बराबर हो ।'

ग्राहकको निगरानी राख्ने फिनसेनले आईसीआईजे र अन्य कुनै पनि मिडियालाई औपचारिक प्रतिक्रिया दिन चाहेन । उल्टै फिनसेनले १ सेप्टेम्बर २०२० मा विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमले शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदन (सार) र सरकारका धेरै वर्ष पहिलेका संवेदनशील कागजपत्रमा आधारित रिपोर्टहरू प्रकाशित गर्न खोजेको बारेमा आफू सचेत भएको बताएको थियो । 

फिनसेनले सारको अनधिकृत खुलासा भए अपराध हुने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भनेको छ । 'फिनसेनले यसको जानकारीलाई अमेरिकाको न्याय विभाग र ट्रेजरी विभागको महानिरीक्षकको कार्यालयलाई पठाएको छ',, विज्ञप्तिमा भनिएको छ । 

खोज पत्रकारिता केन्द्रका लागि  कृष्ण आचार्य, रामु सापकोटा र शिव गाउँले 

साथमा, अरुण कार्की, प्रमोद आचार्य

रिपाेर्ट  

स्पष्टीकरण :

१ : १ अमेरिकी डलरलाई नेपालीमा ११९ रुपैयाँले हिसाब गरिएको छ ।

२ : आईसीआईजेले तथ्याङ्क प्रस्तुतिमा ठूला अंकको रकम मात्रै उल्लेख गरेको हुँदा यो समाचारमा उल्लिखित अंकहरू र उसले सार्वजनिक गरेका अंकमा सामान्य तलमाथि पर्न गएको छ ।

३ : उल्लिखित शंकास्पद कारोबारमा संलग्न कतिपय संस्था तथा व्यक्तिहरूसँग प्रतिक्रिया लिने हाम्रो प्रयास सफल हुन सकेन । यो सामग्री प्रकाशित भएपछि पनि उनीहरूबाट हाम्रो प्रश्नको जवाफ वा छुट्टै प्रतिक्रिया प्राप्त भएमा स्थान दिनेछौँ । 

(सम्पादक)

सागरको ‘दशैं होईन दशा…’ सार्वजनिक (भिडियोसहित)

समाचार, मनोरञ्जन


नेपालीकोको महान् चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे दशैँ गीत ‘दशैँ होईन दशा…’ सार्वजनिक भएको छ । राजु परियारको स्वर र विपिन आचार्यको एरेञ्ज तथा शर्माकै लय रहेको गीतको भिडियो सार्वजिनिक भएको हो । 

दीपक जोशीको निर्देशन तथा छायाँकन र सदिश जोशीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम शर्मा पौडेल, मुस्कान घिमिरे, किशोर पाण्डे तथा बालकलाकार प्रिसिला शर्मा पौडेल र राहुल जोशीको अभिनय हेर्न सकिन्छ ।

निकै मार्मिक शब्दहरू समेटिएको यस गीतको भिडियोमा दुःखी-गरिबको पिडा र वेदनालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई कोचे नेपाल मार्फत सार्वजनिक गरिएको छ ।

'पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड’ को उत्कृष्ट मनोनयन सार्वजनिक

समाचार, मनोरञ्जन


काठमाडौँ — आश्विन ५, २०७७। पेजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गर्दै आएको 'फेशन एण्ड मोडल अवार्ड’को दोश्रो संस्करणको मनोनयन सार्वजनिक भएको छ । नेपाली फेशन र मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि फेशन र मोडलिङका साधकहरुलाई उत्साहित बनाउन र यो उद्योेगको व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको पेजेन्ट नेपाल ईन्टरनेशनलका प्रवन्ध निर्देशक दिक्पाल कार्कीले जनाएका छन् । विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड-१९ लाई मध्यनजर गर्दै पेजेन्ट नेपाल ईन्टरनेशनलले 'पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’का लागि सोमबार काठमाडौंमा एक अनौपचारिक कार्यक्रम गरी मनोनयन सार्वजनिक गरेको छ ।

यसका साथै विगतको वर्षमा झैं यस वर्ष पनि फेशन र मोडल सम्वद्द गरी कुल ३८ विधाका उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन सार्वजनिक भएसंगै मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ग्लोवल अनलाईन पे मार्फत अनलाईन भोटिङ समेत शुरु भएको छ । मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत ग्लोबल अनलाईन पे मार्फत हुने भोटिङ बाट नै लिइने जनाईएको छ । यस अन्तर्गत जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही व्याक्ति/संस्था विजेता घोषित हुने सम्भावना प्रवल रहनेछ । ३८ विधाका मनोनयनहरुलाई नेपाली फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाट मूल्यांकन गरिएको र सोही उत्कृष्ट मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाट नै लिइने आयोजकले जनाएका छन।

Nominess Name List link: https://m.facebook.com/story.php?story_fbid=1041418102961878&id=304596429977386

 

 

 

 

 

 

नेपाली अभिनेत्री सभ्यताको हिन्दी गीतको भिडियो सार्वजनिक

समाचार, मनोरञ्जन


काठमाण्डौँ, असोज ३  नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै अघि बढिरहेकी सभ्यता गीरिले नेपालमा त भिडियोमा मोडलिङ गरेकी छन् नै बलिउडमा पनि उनको ब्यस्तता आजभोली बढ्न थालेको छ । शुक्रबार सार्वजनिक उनि अभिनित हिन्दी गीतको म्युजिक भिडियो ‘ओ माहिया तु मेरी जान’ मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ । सभ्यतालाई म्युजिक भिडियोमा ईशान खान, ऋषि पञ्पल, अर्जुन नारायण, अनुज जयसवालले साथ दिएका छन् । अर्बिट म्युजिकको निर्माण रहेकोे उक्त भिडयोलाई बबिता पान्डे र अर्बित पान्डेको निर्देशन गरेका छन भनेनसञ्जय शर्माले कोरियोग्राफी गरेका हुन् । अन्नु शाह अनवरको शब्द, अलि घनिको संगित, शाहिद माल्येको आवाज रहेको गीतको भिडियोबाट विगतका भिडियोहरु सफल भएझै यसबाट पनि आफु निक्कै आशावादी रहेको मोडल गीरिले बताईन ।